उर्मिला दिदी र तिहार


२८ कार्तिक, सुर्खेत । हिन्दु नेपालीहरुको दोश्रो ठूलो महानचाड दिपावली यतिवेला शुरु भैसकेको छ । यसपटको दशैंतिहार कोरोना भाइरस कोभिड १९ ले धेरै मात्रामा सुनसान बनाइदिएको छ । तर पनि नेपालीहरु भने कोरोनाको कहरलाई पन्छ्याएर आफ्नो चाडपर्व मनाइरहेका छन् ।

तिहार भन्ने वित्तिकै हामी नेपालीहरुमा विभिन्न परिकारका रोटीको सम्झाउने पर्व पनि हो । तिहारमा विषेश गरेर सेल र फिनी रोटी पकाउनेको हतारो हुन्छ । गाउँघरतिर ढिकीमा कुटेको पिठोबाट रोटी बनाउने चलन रही आएको छ । तर आजभोली शहरबजारमा भने आधुनिकताले छोएको छ । त्यसमा पनि रोटी पकाउने फुर्सद नभएकाहरुलाई कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा लाटीकोइली निवासी उर्मिला दिदीलाई सम्झने गर्दछन् ।

उर्मिला श्रेष्ठले यो तिहारको रोटी विषेश गरेर सिन्कामरी बेच्न थाल्नु भएको करिब १३ बर्ष भैसकेको छ तर व्यावसायिक रुपमा भने करिब ५ बर्ष भएको उहाँ भन्नुहुन्छ “अहिले शहरबजारमा ढिकी र मिलमा कुटेको पिठो भन्दा मिक्चरमा पिठो बनाउने चलन छ तर म भने मिलमा नै कुटाएर पिठो बनाउने गर्छु यो मेरो व्यापार भन्दा नी आत्म सन्तुष्टी हो ।”

घरमा तिहारको रोटीमा विषेश गरेर सिन्कामरीको अर्डर हुन्छ तर आजभोली फिनी रोटीको पनि अर्डर अनुसार दिने गरेको उर्मिला दिदी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “यसबर्ष कोभिडको कारणले व्यापारमा केही गिरावट आएको छ तर यसपाली भने केही फरक रोटीहरुपनि बनाएको छु जुन धेरैले मनपराउनुभएको छ ।”

नेवाः मिसा दबु (नेवार महिला संगठन) सुर्खेतका अध्यक्ष उर्मिला दिदीको यो तिहारको रोटी बनाउनेमा घरपरिवार सबैले सहयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । बजारीकरणकालागि छोरा सन्तोषले गर्ने गरेको उहाँ भन्नुहुन्छ ।

उर्मिला दिदी भन्नुहुन्छ “म रोटी बेचेर कमाउनला भन्ने सोचले लागेको होइन तर पनि व्यापार भनेपछि थोरै भएपनि आम्दानी भैरहेको छ यो सिजन अनुसारको भएपनि मेहेनत अनुसारको प्रतिफल भने अवस्य पाएको छु ।”