
६ फागुन, काठमाडौं– दक्षिण एसियाली खेलकुट(साग)मा २३ वर्षपछि इतिहास रच्दै स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोलिलाई धुर्मुस–सुन्तली फाउण्डेसनले नगद रु. २ लाख र कदर पत्रले सम्मान गरेको छ । बुधबार मात्र स्वदेश फर्किएको टोलीलाई धुर्मुस–सुन्तलीले पुरानो बानेश्वरस्थित आफ्नै कार्यालय परिसरमा सम्मान गरेका हुन्। भारतविरुद्धको फाइनल खेलमा नेपाली टोलीले २–१ गोल अन्तरको जित निकालेको थियो। उक्त जितले सारा नेपालीको शिर उँचो बनाएकाले खेलाडिहरुलाई सम्मान गर्न पाउनु अत्यन्तै खुसीको कुरा भएको फाउण्डेसनका उध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका छन्।
ओरालो लागेको नेपाली फुटबललाई नवयूगमा प्रवेश गराउने यूवा खेलाडीहरुको सम्मानमा फिनल्याण्डस्थित नेपालीहरुको संस्था नेपाली इन ताम्पेरे, फिनल्याण्डले पनि साथ दिएको उनले बताए। राष्ट्रका गहना मानिने नेपाली कलाकारहरुले राष्ट्रकै गौरब नेपाली खेलाडीहरुको सम्मान गरेर हौसला बढाएकोमा खेलाडीहरुले धुर्मुस सुन्तली फाउन्डेशनप्रति कृतज्ञता जनाएका छन्। समावेशी खेलकूदको दायरालाई यसपाली नेपाली फुटबल टोलीले अझ फराकिलो बनाएको र यो जितले सारा नेपालीमाझ जात धर्म क्षेत्रभन्दा माथि राष्ट्रियता हुन्छ भन्ने प्रमाणित गरेको भन्दै सबैलाई एकतामा बाँध्न सहयोग गरेकोमा फाउण्डेसनका कोषध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले खेलाडीहरुलाई धन्यवाद दिइन्।
सम्मान कार्यक्रममा खेलाडीहरुको व्यस्तताका कारण टोलीका २ सदस्यमात्र उपस्थित थिए। कार्यक्रममा राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी नवयूग श्रेष्ठ र गोलकिपर विकेश कुथुले टोलीका तर्फबाट सबैको प्रतिनिधित्व गर्दै सम्मान ग्रहण गरेका थिए ।
साभारः नागरिक न्यूज
Milan Shrestha । ६ फाल्गुन २०७२, बिहीबार १२:४६ बजे