गएको आर्थिक वर्ष उद्योग विभागमा १० वटा उद्योगले मात्र १ अर्ब ३९ करोड लगानीको प्रस्ताव गर्दै वार्षिक ५ करोड ३० लाख लिटर मदिरा उत्पादनको लक्ष्य राखेर दर्ता भएका छन्।
चालु आर्थिक वर्षभित्रै सञ्चालनमा आउने ति १० वटा मदिरा उद्योगबाट अब नेपाली बजारमा वार्षिक थप ५ करोड ३० लाख लिटर मदिरा थपिने भएको हो।
शत प्रतिशत स्वदेशी लगानीमा स्थापना हुन लागेका १० वटा उद्योग यही वर्ष सञ्चालनमा आउनेगरी तयारी अगाडि बढाएको उद्योग विभागले जानकारी दिएको छ।
विभिन्न जिल्लामा उद्योग स्थापना गर्नेगरी अनुमति पाएका मदिरा उद्योगहरुले पूर्वाधार निर्माणको काम सुरु गरिसकेको विभागलाई जानकारी गराईसकेको महानिर्देशक महेश्वर न्यौपानेले सेतोपाटीलाई जानकारी दिए। कतिपय उद्योगहरु उत्पादन सुरु गर्ने तयारीमा रहेको उनले बताए।
अधिकांश तराईका जिल्लामा स्थापना हुनेगरी ति उद्योगहरुले अनुमति लिएका हुन्। जसमध्ये पनि सबैभन्दा बढी नवलपरासीमा खुल्ने भएका छन्। सो जिल्लामा खुल्न लागेको सागर डिस्टिलरीले वार्षिक ५० लाख १० हजार लिटर मदिरा उत्पादन गर्नेगरी अनुमति पाएको छ।
नवलपरासीमै उत्पादन गर्नेगरी अनुमति पाएको अरुणा डिस्टिलरीले वार्षिक ४ लाख ५० हजार लिटर उच्च ग्रेडको मदिरा उत्पादन गर्ने लक्ष्य लिएको छ। त्यस्तै गण्डकी लिकर्स प्रालि उद्योगले वार्षिक ८ लाख ३५ हजार लिटर मिश्रित मदिरा उत्पादन गर्ने बताएको छ।
रौतहटमा खुल्न लागेको सुधा डिस्टिलरीले वार्षिक २५ लाख लिटर मिश्रितका अतिरिक्त प्राकृतिक मदिरा ५० किलोलिटर र रेक्टिफाइड स्प्रिट ५ सय किलोलिटर उत्पादन गर्नेगरी अनुमति लिएको छ। तनहुँको आवुखैरनीमा खुल्न लागेको सुर्य ब्लेन्डर्स प्रालिले वार्षिक १९ लाख ५० हजार बोतल मदिरा उत्पादन गर्ने गरी विभागबाट स्वीकृत लिएको छ।
विभागका अनुसार सर्लाहीमा स्थापना हुन लागेको अभिनव डिस्टिलरीले वार्षिक ६० लाख लिटर मिश्रित मदिरा उत्पादन गर्ने छ। त्यसैगरी, काभ्रे जिल्लामा बन्न लागेको शिखर लिकर्स एन्ड डिस्टिलरीले वार्षिक २६ लाख लिटर मदिरा उत्पादन गर्ने गरी इजाजत लगेको विभागले जनाएको छ।
पूर्वतर्फ झापा जिल्लामा पनि मनास्लु डिष्ट्रिलरी खुल्ने भएको छ। उक्त उद्योगले वार्षिक ३ सय किलोलिटर अतिरिक्त प्राकृतिक मदिरा, रेक्टिफाइड स्प्रिट ३ सय किलोलिटर र मिश्रित मदिरा १५ लाख लिटर उत्पादन गर्ने तयारी थालेको छ। महोत्तरी जिल्लामा स्थापना नटराज स्प्रिट इण्डष्ट्रिज प्रालिले १० लाख मिश्रित मदिरा उत्पादन गर्नेगरी काम अगाडि बढाएको छ।
पूर्वदेखि पश्चिम सम्मका तराईका जिल्लामा उत्पादन गरीगरी अनुमति पाएका त्यस्ता मदिरा उद्योगले अत्याधिक मदिरा आयातलाई विस्थापित गर्ने विश्वास सरोकारवालाहरुले लिएका छन्। सुदूरपश्चिममा खुल्न लागेको फार बेष्ट लिकर्स प्रालिले वार्षिक ८३ लाख ५० हजार मिश्रित मदिरा उत्पादान गर्न लागेको हो।
पछिल्लो समय स्वदेशी उत्पादन पनि मदिरातर्फ आकर्षित भएको छ। विशेषगरी बदलिँदो जिवनशैलीले खपत बढेपछि स्वदेशी उद्योगीहरु पनि मदिरा उत्पादनतिर आकर्षित भएका छन्।
गत आर्थिक वर्ष २०७२/७३ मा मात्रै १८ अर्ब ३० करोड रुपैयाँको विदेशी मदिरा आयात भएको भन्सार विभागले जनाएको छ। सो आर्थिक वर्षमा मात्रै १ करोड २४ लाख लिटर परिमाणमा मदिरा आयात भएको छ। यो परिमाण विदेसिएकाले कोशेलीस्वरुप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ल्याउने मदिरा बाहेक हो।
विभिन्न २ दर्जन बढी मुलुकहरुबाट मदिरा आयात हुने गरेको छ। आयात मदिरामध्ये भारतबाट मात्रै १ करोड ७ लाख लिटर परिमाण भित्रिएको तथ्याङ्क छ। त्यसबाहेक बेलायत, अष्ट्रेलिया, फ्रान्स, इटली, अमेरिका, बेल्जियम, चीन लगायत राष्ट्रबाट नेपालमा मदिरा आयात हुने गर्दछ।
यसरी ठूलो परिमाणमा विदेशबाट मदिरा आयात भइरहेकोमा स्वदेशी उद्योगहरु थपिन सकेमा र भएका उद्योगहरुको उत्पादन विस्तार हुन सकेमा देशको अर्थतन्त्रलाई समेत टेवा पुग्ने देखिन्छ।
साभारः सेतोपाटी अनलाइन



Prawash Kumar Shakya । ११ कार्तिक २०७३, बिहीबार ०८:५७ बजे