
७ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिटी बसपार्कमा भएको विवाद हाललाई सहमतिमा समाधान भएको छ ।
वीरेन्द्रनगरको सिटी बसपार्कमा यातायात व्यावसायीहरुको सहमति विपरित वीरेन्द्रनगर नगरपालिकाले २ यातायात प्रा.लि.लाई थप काउण्टर सञ्चालनकालागि लागि संरचना बनाउन दिए संगै विवाद भएको थियो ।
सुर्खेतमा सञ्चालित अन्य ८ यातायात प्रा.लि.ले नगरपालिकाको उक्त कार्यको विरोधमा आन्दोलन शुरु गरेपछि आज बैठकबसी सहमति गरेको हो । सहमति अनुसार निर्णय कार्यान्वयन नभएर बसपार्कमा दक्षिण तर्फको खाली ठाँउमा नगरपालिकाको नक्सा बमोजिम थप काउण्टर सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।
आज भएको सहमति बैठकले थप काउण्टर प्राप्त गर्ने मध्यपश्चित यातायात सेवा सुर्खेत प्रा.लि. र सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.ले निर्माण गरिरहेको नयाँ संरचनालाई स्थगित गरि पुरानै काउण्टरमा आवश्यकता अनुसार १/१ काउण्टर थप गर्ने सहमतिमा आन्दोलन स्थगित भएको छ । साथै २ यातायात प्रा.लि.ले निर्माण गरेको नयाँ संरचनालाई नगरपालिकाले प्राविधिक मुल्याङ्कन गरि सोधभर्ना गर्ने सहमति गरिएको छ ।
त्यस्तै बैठकले बसपार्क व्यवस्थापन पक्षले लिन पाउने शुल्क बाहेक अन्य शुल्क उठाएको प्रमाण सहित पेश भएमा नगरपालिकाले कारवाही गर्ने जनाएको छ ।



Prawash Kumar Shakya । ७ माघ २०७७, बुधबार २०:२३ बजे