ओली सरकारको असंवैधानिक कदम विरूद्ध कर्णालीका पत्रकार सडकमा (भिडियो सहित)


२ फागुन, सुर्खेत । वर्तमान ओली सरकारले गरेको संसद विघटन र प्रतिगमन विरुद्ध कर्णाली प्रदेशमा क्रियाशिल पत्रकारका सात वटा पेशागत संगठनहरुले आज सुर्खेतको वीरेन्द्रनगरमा बिरोध प्रर्दशन गरेका छन ।

पेशागत संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको र प्रतिगामी कदम चालेको भन्दै पेशागत संगठनहरुले विरोध गरेका हुन ।

स्थानिय मंगलगडीचोकबाट शुरुभएको मौन र्यालीले वीरेन्द्रनगर बजार परिक्रम गरी पिपल चौतारामा पुगेर सभामा परित भएको हो । र्यालीमा सहभागीहरुले कालो मास्क र कालो पट्टी बाधेर सरकार बिरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका थिए । सभामा सहभागी पत्रकारहरुले सरकारको प्रतिगमन र प्रेस स्वतन्त्रता विरोधी हर्कतका विरुद्ध आफुहरु सडकमा आएर प्रर्दशन गर्ने बाध्यभएको बताएका छन् ।

सभालाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका पुर्व महासचिव शिव लम्सालले सरकारको निरुंकुश शैलीको विरुद्धमा त्यसलाई रोक्न सडकमा आएको बताउनुभयो । उहाँले मिडिया सम्बन्धी एकपछि अर्को विवादास्पक विधेयक ल्याएर पूर्ण प्रेस स्वन्त्रता खोस्ने काममा सरकार लागि परेको उल्लेख गर्नुभयो ।

यस्तै सभामा नेपाल प्रेस संगठनका सचिवालय सदस्य सइन्द्र राईले लोकतन्त्र र संविधानको रक्षा गर्ने दायित्वबाट सरकार पछि हटेको भन्दै यसलाई रोक्न आफुहरु सडकमा आएको बताउनुभयो । कार्यक्रमा प्रेससंगठनका बलराम रोकाय पत्रकार महासंघ कर्णालीका उपाध्यक्ष कमल पन्त, प्रेस संगठनका कर्णाली ईन्चार्ज ध्रुवविक्रम बुढाथोकी लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

विरोध र्यालीमा नेपाल प्रेस युनियन, प्रेस संगठन, क्रन्तीकारी पत्रकार महासंघ, प्रगतिशिल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ लगायत सातवटा संघसंगठनको सहभागिता रहको थियो।