७ फागुन,सुर्खेत । नेपाली जनमानसमा विशेष दिनमा शुरु गरिएको काम विशिष्ठ नै हुन्छ भन्ने विश्वास रही आएको छ । हिन्दु परम्परामा प्रायः ऐतिहासिक दिनलाई साक्षी राखेर केही नयाँ कामको थालनी गर्ने चलन पुरानै हो । यस्तै मूल्य मान्यतालाई कायम राख्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले शुक्रबार प्रजातन्त्र दिवसलाई साक्षी राखेर दैनिक राष्ट्रिय गान पश्चात मात्रै प्रशासनिक कार्यको थालनी गर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रजातन्त्र दिवसको अवसर पारेर अब देखि दैनिक राष्ट्रिय गान पश्चात मात्र कार्यालयको कामकाज शुरु गरिने जनाए । उनले दैनिक बिहान १० बजे सबै कर्मचारी जम्मा भई राष्ट्रिय गान बाचन गरिसकेपछि मात्र सेवाग्राही तथा अन्य कामको थालनी गरिने बताए । ‘कार्यालयमा काम शुरु हुनु अगाबै राष्ट्रगानले राष्ट्र प्रतिको समर्पण भाव, आपसी सद्भाव तथा अनुशासित बनाउने अपेक्षासहित जिल्ला प्रशासन कार्यालयबाट यसको शरुवात गरेका छौं,’ उनले भने, ‘राष्ट्रगानबाट कर्मचारीलाई राष्ट्रप्रेमको भाव बढ्नुका साथै अनुशासित बनाउन क्रमशस् यो कार्यको थालनी अन्य सरकारी कार्यालयमा लागु गरिने छ ।’ उनले सरकारी कार्यालयमा आएर काम गर्नु जतिकै राष्ट्र र राष्ट्रियता प्रतिको माया, सद्भाव कायम राख्नु महत्वपूर्ण भएको जिकिर गरे । उनका अनुसार राष्ट्रगानको समयमा जिल्ला प्रशासन आएका सेवाग्राहीले समेत अनिवार्य राष्ट्रगान बाचन गर्नुपर्ने छ ।



Milan Shrestha । ७ फाल्गुन २०७७, शुक्रबार १८:१२ बजे