माक्स प्रयोगको अनिवार्य गर्दै अनुगमन समिति


८ बैशाख, सुर्खेत । दोस्रो चरणको कोरोना सङ्क्रमणको जोखिम बढेपछि जिल्ला कोभिड—१९ सङ्क्रमण व्यवस्थापन केन्द्र सुर्खेतले मंगलवार गठन गरेको अनुगमन समितिले आफ्नो सक्रियता बढाएको छ ।

बुधवार दिउँसो केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टसहितको अनुगमन टोलीले स्वास्थ्य सुरक्षा मापदण्डको अनुगमन थालेको छ ।

वीरेन्द्रनगर बजारका प्रत्येक पसल पुगी विक्रेता तथा ग्राहक, पैदल यात्रु, मोटरसाइकलमा सवारी यात्रुलाई माक्स लगाउन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमनका क्रममा धेरैजसोले माक्स लगाएको पाइए पनि केहीले नलगाएको, पकेटमा राखेको पाइएको अनुगमन टोलीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनुभयो । उहाँका अनुसार केहीले माक्स प्रयोगमा बेवास्ता गरेको हुँदा अनिवार्यरुपमा माक्स लगाउन निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले केन्द्रको निर्णय अनुसार स्वास्थ्य मापदण्ड पालना गरे नगरेको यसरी नै अनुगमन गरिने बताउनुभयो । उहाँले माक्सप्र अनिवार्य प्रयोग गर्दा कोरोनाको जोखिम कम हुने भएकोले मास्क लगाउन आग्रह गर्दै स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न सम्पूर्ण निकायसँगै आग्रह गर्नुभएको छ ।

यसैगरी टोलीले सुर्खेतस्थित ठूला होटलका स्वीमिङ पुलको पनि अनुगमन गरेको छ । शुभ होटल, ट्रकोमा रिर्सोट र सिद्धार्थ होटलको स्वीमिङ पुल अनुगमन गरिएको छ । ती होटलहरुले सोमवारदेखि नै स्वीमिङ पुलहरु बन्द गरिसकेको जानकारी दिएका छन् । यस्तै प्रदेश अस्पतालमा संचालन गरिएको कोरोनाको दोस्रो डोजको खोप लगाउने कार्यको पनि अनुगमन गरिएको छ । प्रदेश अस्पतालमा मंगलवार ६४५ जनाले कोरोनाको दोस्रो डोजको खोप लगाएको र बुधवार पनि त्यतिकै संख्यामा पुग्ने जनाइएको छ ।

अनुगमनमा प्रजिअ रिजालसहित प्रहरी प्रमुख राजेन्द्रप्रसाद भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक दिग्बिजय सुवेदी, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका कोरोना फोलक पर्सन उदय विसी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल संलग्न हुनुहुन्थ्यो ।