जिपी कोइराला फाउण्डेशनद्वारा पीपीई सेट हस्तान्तरण


३० बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको लहर तिब्रगतिमा फैलंदै गर्दा आज कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग गरिएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले कर्णाली प्रदेश अस्पताल कालागाउँ र वीरेन्द्रनगरको नगर कोभिड अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पिपिई सेट सहयोग गरेको हो ।

आज (विहीवार) प्रदेश अस्पतालमा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले प्रदेश अस्पतालका डा. नवराज केसीलाई ५० सेट पिपिई हस्तान्तरण गर्नुभयो । सभापति रेग्मीले कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि पिपिई सेट सहयोग गरिएको बताउनुभयो । उहाँले सहयोग सानो भए पनि मानवीय भावनाका कारण स्वास्थ्यकर्मीहरुको सुरक्षा गर्न पिपिई सेटले सहयोग पुग्ने जनाउनुभयो ।

कार्यक्रममा डा. केसीले कोरोनाको संक्रमण दर बढ्दै गएजसरी मानवीय भावना पनि बृद्धि हुँदै गएको बताउनुभयो । उहाँले मानवीय भावनाले सहयोग थोरै भए पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । सो अवसरमा जीपी कोइराला फाउण्डेशनका संयोजक ललित भट्टराई, काँग्रेस क्षेत्रीय सचिव गणेशकुमार पन्त लगायतको उपस्थिति थियो । यसैगरी सोही अवसरमा कटकुवास्थित नगर अस्पताललाई पनि २५ सेट पिपिई वितरण गरिएको छ ।