‘काँध फेर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन’


सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति भएको छैन : प्रधानमन्त्री

downloadजेष्ठ २०, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् ।  ‘अहिले मलाई प्रधानमन्त्री पद छाड्नुपर्यो भनेर हप्काउने र तर्साउने काम गरिँदै छ, यो मलाई स्वीकार्य छैन, हप्काई र तर्साइबाट तर्सिने मेरो स्वभाव होइन ‘ उनले भने ।

आजदेखि यहाँ सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रधानमन्त्रीको पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक सबै हल हुन्छन् भने आफूलाई कुर्सीमोह नभएको बताए ।

‘म जन्मदा प्रधानमन्त्री भएर नजन्मेको र मर्दा पनि उक्तपद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रधानमन्त्री भएको हुँ,’ उनले भने ‘अहिले मलाई कमाउनु छैन, भ्रष्टाचार पनि गर्नुछैन, देश बनाउने समय पाएको छु, जतिदिन पदमा हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु ।’

ओलीले आफू अति अप्ठ्यारो अवस्थामा पद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताए ।

सडकमा तमासा नदेखाऊ

नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रम ओलीले सडकमा तमासा नदेखाउन र केही असन्तुष्टि भए वार्तामा आउन ती दललाई आग्रह गरे । उनले भने “तराईको आन्दोलन सेलाइसकेको छ, मैले ताती सकेको भाँडोलाई विस्तारै सेलाउने काम गरेँ, भारतीय गतिरोध पनि अन्त्य भएको छ ।”

काँध फेर्ने कुरा नगर

प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको दावी गरे ।

उनले प्रश्न गरे ‘सत्ता हस्तान्तरणसम्बन्धी तीनबुँदे सहमति कहाँ भयो ? लौन मलाई देखाइदिनुस् । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ । म ती पक्षलाई आग्रह गर्छु, काँध फर्ने कुरा नगर्नुहोस्, केपी ओलीको काँध थाकेको छैन ।’

बजेट छरेकै हो

प्रधानमन्त्री ओलीले विनियोजन शब्दको अर्थ छर्नु हुन्छ, आफूले विनियोजन नभनी छर्नु भनेको स्पष्ट पारे ।

पैसा पोको पारेर कहाँ विकास हुन्छ ? शिक्षा, स्वास्थ्य, ग्रामीण पूर्वाधार, यातायात जस्ता क्षेत्रमा छरे पो विकास हुन्छ, यही विकासका लागि पैसा छरेको हो उनले भने ।

ओलीले सिंहदरबारमा पैसा पोको पारेर राखेर देश विकास नहुने भन्दै चर्चा गर्दै लगानी गरे पो प्रतिफल आउने बताए ।

विगतका सरकार तरकारी बारीका बुख्याचा

प्रधानमन्त्री ओलीले विगतका सरकारलाई तरकारी बारीको बुख्याचाको सङ्ज्ञा दिँदै सामाजिक लोक कल्याणकारीमा लगानी गर्न डराएको आरोप लगाए । “बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ” उनले भने ।

साभारः कान्तिपूर अनलाइन