शहीदको सूचीलाई लिएर संघीय गठबन्धनभित्र असन्तुष्टि


काठमाडौं, ५ भदौ । मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा समीक्षा गर्न केन्द्रीय सचिवालयको बैठक बोलाउने तयारी गरेको छ ।

सरकारले आंशिक माग पूरा गरेको जनाएको गठबन्धनले अन्य मागका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा सचिवालयमा छलफल गरिने तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार सम्भवत सोमबार सचिवालयको बैठक बस्ने तयारी भएको छ ।

गठबन्धनले बुझाएको शहीदको सूचीअनुसार सरकारले सबैलाई शहीद घोषणा गरेको छैन । सूचीअनुसार शहीद घोषणा नभएपछि गठबन्धनका केही साना दल असन्तुष्ट छ ।

त्यसैगरी सचिवालयमा राजनीतिक मागहरूलाई पनि कसरी अगाडि बढाउने भन्नेबारेमा परामर्श गरी शीर्ष नेतृत्वलाई सुझाव दिइने तमसपाका वरिष्ठ नेता रायले बताउनुभयो ।

‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेर मतदान गरेको संघीय गठबन्धनले संविधान संशोधन गरेर माग पूरा नहुँदासम्म सरकारमा सहभागिता नजनाउने उल्लेख गरेको छ ।

साभारः दैनिकि नेपाल अनलाइन