
१२ श्रावण, सुर्खेत । नेपालमा रक्तदान जीवनदान, रेडक्रसको साथ भन्ने मुल नारा लिएर शुरु गरिएको रक्तसञ्चार सेवाको आज ५५औं रक्तसञ्चार स्थापना दिवस सुर्खेतमा पनि मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाले प्रदेश राजधानीमा सहज रक्तदान तथा सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र सञ्चालन गर्नकालागि अन्तरक्रिया कार्यक्रम गरेर मनाएको हो ।
प्रदेश राजधानीमा सुविधासम्पन्न रक्तसञ्चार केन्द्र नहुनु दुखद भएको बताउँदै कर्णाली स्वयंसेवक दलका उपाध्यक्ष एवं सुर्खेत उद्योग बाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले सुविधासम्पन्न रक्तसञ्चार केन्द्रकालागि निजी क्षेत्रले पनि सहयोग तयार रहेको औल्यानुभयो ।
त्यस्तै स्वयंसेवकदलका सचिव अनिल ढकालले अन्तराष्ट्रिय संस्था लायन्स क्लबले सुर्खेतबाट रक्तसञ्चारकालागि लाखौ रकम उठाएर काठमाण्डौं पठाउँदा त्यो रकम सुर्खेतमा किन आउँदैन किन सुर्खेतमा लगानी हुन सकेन त्यस रकमलाई किन सुर्खेतमा खर्च गर्न सकेनौ भनेर रेडक्रस सुर्खेतले आत्मआलोचना गर्नुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले सुर्खेतको रक्तसञ्चार केन्द्रमा रक्तदान गर्न जाँदा रक्तदान गर्न उत्प्रेरणा जाग्ने वातावरण नभएको बताउनुभयो । उहाँले भन्नुभयो “रेडक्रसले कुन रक्त समूहको रगत आवश्यक छ त्यस्कालागि स्क्रनिङ्ग गरेर रगत संकलन गर्नुपर्ने हुन्छ ।”
त्यस्तै कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य महाशाखाका प्रमुख वृषबहादुर शाहीले रक्तसञ्चारकालागि अहिले कुनै वजेट नभएको बताउँदै उहाँले कोभिडलाई छुट्याइएको रकमबाट रक्तसञ्चारकालागि प्रकृया अगाडी बढाउने प्रयास गर्ने औल्याउनुभय।
कार्यक्रममा कर्णाली स्वयंसेवक दलद्वारा कर्णाली प्रदेशमा सहज रक्तसञ्चार सेवाकालागि निर्माण गरिएको ksdblood एप र एप सञ्चालनका दलका सहसचिव प्रवाश कुमार शाक्य जानकारी दिनुभएको थियो ।
कार्यक्रम रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।



Prawash Kumar Shakya । १२ श्रावण २०७८, मंगलवार १९:३० बजे