सुर्खेत, ५ श्रावण । पुरातत्व विभागको क्षेत्रीय संग्रहालयको रुपमा रहेको सुर्खेत स्थित क्षेत्रीय संग्रहालयले मध्यपश्चिम क्षेत्रको ऐतिहासिक, पुरातात्विक वस्तु संकलन एवं प्रदर्शन गर्दै आइरहेको छ । संग्रहालयमा विद्यार्थीहरुलाई शिक्षा दिने हिसावले जिल्लाका १५ वटा सामुदायिक र निजी विद्यालयहरुका विद्यार्थीहरु सदस्य समेत गराएको संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
संग्रहालयको विषयमा विद्यार्थीहरुलले धेरै ज्ञान सिकुन भनेर विद्यार्थीहरुका अभिभावकको अनुमति अनुसार संग्रहालयको सदस्यता दिइने गरेको संग्रहालय प्रमुख अधिकारीले बताए । जिल्लाका निजी र सामुदायिक विद्यालयका विद्यार्थी गरेर पुरतात्विक विभाग क्षेत्रीय संग्रहालयले अहिलेसम्म ७ सय विद्यार्थीहरुको सदस्यता गराइसकेको छ ।
संग्रहालयले नयाँ भवन निर्माणसँगै चालु आर्थिक वर्षबाट संग्रहालयमा संकलित पुरातात्वयिक वस्तुको थप प्रदर्शनी गर्ने र थप प्रदर्शनीसँगै पर्यटकहरुको संख्यामा वृद्धि हुने संग्रालय प्रमुख अधिकारीले बताए ।
उनका अनुसार आर्थिक वर्ष ०७१/७२ मा ८ हजार ६ सय २१ जनाले संग्रहालय अवलोकन गरेका थिए भने ०७२/७३ मा ८ हजार ४ सय ५६ जनाले संग्रहालय अवलोकन गरेका थिए । नाकाबन्दीकोे असरले गर्दा आर्थिक वर्ष ०७१/७२ को तुलनामा आर्थिक वर्ष ०७२/७३ मा संग्रहालयमा अवलोकन गर्नेहरुको संख्या घटेको संग्रहालय प्रमुख अधिकारीले बताए ।
संग्रहालय प्रमुख अधिकारीका अनुसार पुरातात्व विभाग क्षेत्रीय संग्रहालय सुर्खेतमा जिल्ला वाहिरका भेरी, कर्णाली, सेती र महाकाली अञ्चलवाट धेरै पर्यटकहरु आउने गर्छन् । संग्रहालयमा नयाँ भवन निर्माण भएसँगै थप प्रदर्शनी थालेपछि पर्यटकको संख्यामा वृद्धि हुने संग्रहालय प्रमुख अधिकारीले बताए ।
पर्यटकका निम्ति जिल्लामा थप आर्कषक स्थलहरुको निर्माण हुन जरुरी भएको संग्रहालय प्रमुख अधिकारीले बताए । उनले भने, ‘पर्यटकका लागि जिल्लामा अझै थप आर्कषण स्थल निर्माणको लागि सबै सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ ।’
आर्थिक वर्ष ०७२/७३ मा पुरातात्विक विभाग क्षेत्रीय संग्रहालयले अवलोकन गर्न आउने पर्यटकहरुलाई टिकट विक्री लगाएतबाट १ लाख ९ हजार ८२ रुपैयाँ राजश्व संकलन गरेको प्रमुख अधिकारीले जानकारी दिए ।
साभारः खबरइरा अनलाइन



Prawash Kumar Shakya । ५ श्रावण २०७३, बुधबार १७:१७ बजे