
९ पौष, सुर्खेत । देश कै पहिलो बैंक नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेश स्तरिय डिजिटल बैकिङ्ग साक्षरता अभियान सम्पन्न गरेको छ ।
बैंकले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको मोडेल कलेज सुर्खेत, सुर्खेत बहुमुखी क्याम्पसमा र अमरदीप क्याम्पसमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम ३ वटा शिक्षण संस्थाको सहकार्यमा विद्यार्थीहरुलाई डिजिटल बैकिङ्ग सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्गका प्रविधिहरुमा अभ्यस्त गराउने त्यस्तै डिजिटल वित्तीय साक्षरता सम्बन्धि जानकारी, नेपाल बैंकको विभिन्न सेवा सुविधाहरु, डिजिटल बैकिङ्ग प्रविधिहरु, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङ्गका विविध आयामहरुको बारेमा जानकारी गराईएको वीरेन्द्रनगर शाखा प्रमुख गणेश कुमार खत्रीले बताउनुभयो ।
कार्यक्रममा नेपाल बैंक लिमिटेड कर्णाली प्रदेश प्रमुख अश्विनकुमार पुडासैनीले अबको आवश्यकता भनेकै डिजिटल बैंकिङ्ग रहेको भन्दै हरेक विद्यार्थी यस सम्बन्धमा जानकार रहनुपर्ने कुरामा जोड दिनु भएको थियो । उहाँले नेपाल बैंकले भविष्यमा उद्यमी बन्न चाहने विधार्थीलाई सहयोग गर्ने भन्दै एक व्यक्ति एक बैंक खाता हुनुपर्ने कुरालाई जोड दिनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुखहरुले डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकोमा नेपाल बैंक लिमिटेडलाई धन्यबाद दिंदै यस कार्यक्रमबाट सम्पूर्ण विधार्थीहरुले बढि भन्दा बढि लाभ लिने बिश्वास व्यक्त गर्नु भएको थियो ।
करिब ३०० बिद्यार्थीहरु सहभागी कार्यक्रममा मोडेल कलेज सुर्खेतका क्याम्पस प्रमुख गणेश आचार्य, सुर्खेत बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख माधब प्रसाद खनाल र अमरदिप क्याम्पसका अध्यक्ष बालकृष्ण पौडेलको पनि सहभागीता रहेको थियो ।
त्यस्तै नेपाल बैंक लिमिटेड जुम्ला शाखाको पहलमा पनि जुम्ला बहुमुखी क्याम्पस जुम्लामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । अनवरत विश्वासको ८५ औ बर्ष प्रवेश गरेको देशकै पहिलो बैंक नेपाल बैंक लिमिटेड सबै पुस्ताको उत्तिकै रोजाइको बैकको रुपमा रहन सफल भएको छ । बैंकले हाल ७२ जिल्लाका २१३ शाखाहरु, १५० एटिएम र ४७ एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध गराईरहेको छ ।
Prawash Kumar Shakya । ९ पुष २०७८, शुक्रबार १४:३६ बजे