
२३ पौष, सुर्खेत । सुर्खेत, पुस २३ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भारतबाट फर्केर आएका कर्णालीबासीलाई गाउँ–घरमै रोजगारी उपलब्ध गराउने बताउनु भएको छ ।
उहाँले भारतमा सिकेको सीपलाई स्वदेशमा प्रयोग गर्ने वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । ‘कालापहाड (भारत) मा धेरै श्रम गर्ने अनि न्यून ज्याला पाउने कर्णालीबासी नागरिकलाई आफ्नै प्रदेशमा रोजगारी प्रदान गर्ने उद्देश्यले कार्ययोजना बनाइरहेका छौं,’ शुक्रबार नेपाली जनसम्पर्क समिति भारतको प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘प्रदेश सरकार मातहतका विकास योजना, सीप अनुसारको रोजगारमा अनुदान सहयोगलगातका कार्यक्रमहरुमा भारतबाट फर्केका नागरिकहरुलाई प्राथमिकता दिन्छौं ।’ मुख्यमन्त्री शाहीले कोरोनाका कारण भारतमा कार्यरत धेरै नेपालीहरुले रोजगारी गुमाएको उल्लेख गर्दै त्यसमा कर्णाली र सुदूरपश्चिमका नागरिकहरु धेरै रहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले स्थानीय तहसँग समन्वय गरेर कालापहाडबाट फर्किएकाहरुको तथ्याङ्क संकलनसँगै उनीहरुको सीपका बारेमा जानकारी लिने बताउनुभयो । ‘त्यसैका आधारमा प्रदेश सरकारले रोजगार कार्यक्रम सञ्चालन गर्छ,’ उहाँले भन्नुभयो, ‘अहिले सञ्चालिन मुख्मन्त्री रोजगार कार्यक्रमसँगै कृषि व्यवसाय गर्नेहरुका लागि न्यून ब्याजदरमा ऋण सुविधा पनि दिन्छौं ।’ मुख्यमन्त्री शाहीले कोरोनाको तेस्रो लहर सुरु हुन लागेको जानकारी गराउँदै विगतजस्तो कर्णालीका नागरिकहरुले नाकाबाटै सास्ती भोग्न नपर्ने बताउनुभयो ।
उहाँले भारतबाट आउने नागरिकहरुलाई नाकाबाटै घरसम्म सुरक्षित यात्राका लागि प्रदेश सरकारले तयारी गरिरहेको बताउनुभयो । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले मुख्यमन्त्री समक्ष नौ बुँदे मागपत्र पेश गर्नुभएको थियो ।
मागपत्रमा भारतबाट फर्केका कर्णालीबासीलाई रोजगार, सिपमूलक तालिम, सस्तो व्याजदरमा ऋण उपलव्ध गराउन, प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मतदानको वातावरण मिलाउन, कर्णालीका युवाहरुलाई बिदेश जानबाट रोक्नका लागि युवा लक्षित कार्यक्रम ल्याउन, भारतमा रहेका र जाने कर्णालीका युवाहरुको तथ्याङ्क राख्न माग गरिएको छ ।



Prawash Kumar Shakya । २३ पुष २०७८, शुक्रबार १९:४६ बजे