
३ माघ, सुर्खेत । कोरोना भाइरस कोभिड १९को तेश्रो लहर तिब्रगतिमा बढ्दै गर्दा कर्णाली प्रदेश सरकारले संक्रमण रोकथामका लागि करिव ७ करोड रुपैयाँ निकासा गरेको छ ।
सरकारले एम्बुलेन्स तथा शववहान खरिद, स्वास्थ्य उपकरण र क्वारेन्टिन व्यवस्थापनका लागि ७ करोड ६ लाख रुपैयाँ सम्बन्धित कार्यालयलाई निकासा दिइएको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनुभयो ।
अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा एम्बुलेन्स खरिदका लागि २० लाखका दरले ८० लाख रुपैयाँ यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय कालिकोट, स्वास्थ्य सेवा कार्यालय सल्यान र स्वास्थ्य सेवा कार्यालय रूकुम पश्चिमलाई प्रति अस्पताल १२ लाखका दरले जम्मा ४८ लाख रुपैयाँ पठाएको छ ।
त्यस्तै प्रदेश अस्पतालमा मेसिनरी औजार खरिदका लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतको लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड तथा पञ्चपुरी नगरपालिका सुर्खेतको कोभिड–१९ अस्पतालको व्यवस्थापकीय खर्चको लागि १० लाख निकासा गरेको छ भने कर्णालीका ६६ सामुदायिक स्वास्थ्य इकाईहरुका लागि तीन करोड ३० लाख रुपैयाँ निकासा गरेको छ ।
मुख्यमन्त्री शाहीले कोरोनाको तेस्रो लहर रोकथामका लागि सरकार पूर्ण रुपमा क्रियाशील रहेको बताउनुभएको छ । कोरोनाको यसभन्दा अगाडीको लहरमा कर्णालीमा अक्सिजनको ठूलो अभाव भोग्नु परेकोले अहिले कर्णालीको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रदेश अस्पताल, वीरेन्द्रनगर नगर अस्पताल, मेहलकुना अस्पताल, जिल्ला अस्पताल दैलेख, कालिकोट, रुकुम पश्चिमसहित ८ ठाउँमा अक्सिजन प्लान्ट स्थापना गरिएको उहाँले बताउनुभयो ।



Prawash Kumar Shakya । ३ माघ २०७८, सोमबार २०:३२ बजे