
२ वैशाख, काठमाण्डौं । चिकित्सा शिक्षा सुधार लगाएत विभिन्न मागहरु राख्दै १९औं पटक सम्म सत्याग्रह बसीसक्नुभएको डा. गोविन्द केसीले सरकार संग विभिन्न पाँच बुँदे माग राख्दै पुनः सत्याग्रह बस्ने चेतावनी दिनुभएको छ ।
सरकार तथा सरोकारवालासँग विभिन्न ५ बुँदे माग राख्दै डा. केसी समयमा समस्याको हल नभएको अवस्थामा पुनः सत्याग्रह बस्ने चेतावनी दिनुभएको हो ।
डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख्याका आधारमा बढाउन माग गर्नुभएको छ । त्यस्तै ‘जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, स्तरोन्नति, र गुणस्तर वृद्धि सुनिश्चित, संविधानले सबैका लागि निःशुल्क आधारभुत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्,’ विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै डा. केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गर्नुभएको छ भने आफूसँग गरिएको सम्झौता अनुसार डोटी वा डडेलधुरा, उदयपुर, इलाम वा पाँचथरमा तुरुन्त सरकारल मेडिकल कलेज निर्माण गर्न माग गर्नुभएको छ ।
केसीले अन्तिम बुँदामा आफूसँग भएका सम्झौताहरू तथा प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न माग गर्दै माग पूरा नभएमा कुनैपनि बेला सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौं,’ डा. केसीले भन्नुभयो ।
Prawash Kumar Shakya । २ बैशाख २०७९, शुक्रबार १६:३६ बजे