नवनिर्वाचित वडाअध्यक्ष गिरीद्वारा पदभार ग्रहण


११ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडाका नवनिर्वाचित वडा अध्यक्ष ऋषि गिरीले आज पदभार ग्रहण गर्नुभएको छ ।

नवनिर्वाचित अध्यक्ष गिरी सँगै सदस्यहरु मानबहादुर चौधरी, भीमबहादुर गुरुङ्ग महिला सदस्य गोरी रावत तथा दलित महिला सदस्य रत्ना नेपालीले पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै अध्यक्ष गिरीले आफु निर्वाचित भैसकेपछि अब कुनै एउटा पार्टीको नभै साझा जनप्रतिनिधी भएको बताउनुभयो । उहाँले भन्नुभयो “हामीबाट वडामा दलिय व्यवहार हुनेछैन् सबै वडाबासीलाई समेट्ने जिम्मेवारी आएको छ । निर्वतमान वडा अध्यक्ष ज्यूले ५ बर्षमा कामको धेरै अनुभव संगाल्नु भएको छ त्यसैले उहाँको साथ र समर्थन पनि आवश्यक छ । म आफ्नो यो ५ बर्षे कार्यकाल विवादरहित बनाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

त्यस्तै निर्वतमान वडा अध्यक्ष सुरेश मानन्धरले २०७४ मा आफु निर्वाचित भएर आउँदा जनताले  धेरै अपेक्षा गरेको काम आफ्नो कार्यकालमा त्यसै अनुरुप कामहरु गरेको बताउँदै अब बाँकी रहेका कामहरुलाई नवनिर्वाचित अध्यक्षले पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष गिरी आजको पहिलो बैठकले दुई वटा महत्वपूर्ण निर्णय गरेको जानकारी दिनुभयो । १- वडाको दक्षिण भागमा स्वास्थ्य ईकाइ गठन गर्ने र २- वडामा रहेका बृद्ध भत्तालाई टोलविकासको सहयोगमा घरघरै सेवा दिने ।

समाजसेवी डम्मरविक्रम जिसी तथा गणेश वलीले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा वडा सचिव विष्णुकुमारी ढकालले स्वागत गर्नुभएको थियो भने वडाका कर्मचारी राधा विकले सहजीकरण गर्नुभएको थियो ।