
सुर्खेत, ९ मंसिर ।
कर्णाली प्रदेश योजना आयोगको प्रथम वैठक सम्पन्न भएको छ । मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रवहादुर शाहीको अध्यक्षतामा आईतवार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सम्पन्न वैठकले कर्णाली प्रदेशको दिर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालु आव भित्रै तयार गर्ने निर्णय गरेको छ ।
त्यसैगरि वैठकले आर्थिक वर्ष २०७६÷७७को वार्षिक नीति तथा कार्यक्रम एवं वजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरि वार्षिक योजना तयार गर्ने निर्णय पनि गरेको सदस्य सचिव तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।
निरौलाका अनुसार चालू आवको वजेट कार्यान्वयनलाई प्रभावकारी वनाउन अनुगमण मूल्याँकन निर्देशिका तयार गरी प्रभावकारी अनुगमणको व्यवस्था मिलाउने पनि आजको वैठकले निर्णय गरेको छ ।
वैठकले परियोजना वैंक तयार गर्ने, कर्णाली प्रदेशको दिर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचान सहितको तथ्याँक, सुचाँक र प्रारुप तयार गर्ने, लगायतका निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
आयोगको कामलाई प्रभावकारी वनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी वैठकमा पेश गर्ने निर्णय पनि आजको वैठकले गरेको छ ।
वैठकमा योजना आयोगका पदाधिकारी तथा प्रदेश सरकारका मन्त्रीहरुको सहभागिता रहेको थियो ।



Milan Shrestha । १० मंसिर २०७५, सोमबार ०६:१४ बजे