नेपाली फुटबलले दुई वर्षसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने


कुशल तिमल्सिना

१० फागुन, काठमाडौं । नेपाली फुटबलका लागि यो वर्ष निकै सुखद रहृयो । लामो समयसम्मको अन्तराष्ट्रिय गोलको खडेरी तोड्दै मात्र साग र बङबन्धुको उपाधि समेत जित्यो ।

गत भदौमा सम्पन्न यू १९ साफको उपाधि जितेर सुरु भएको यात्राका क्रममा माघको पहिलो साता सम्पन्न बंगबन्धु गोल्डकप तथा १२ औं सागमा फुटवलमा स्वर्ण जित्यो । यसैवर्ष भएको साफ च्याम्पियनसिपमा देखाएको फितलो प्रर्दशनलाई बङबन्धु र सागको प्रर्दशनले बिसाईदियो ।

नेपाली फुटबलमा नयाँ अनुहारको कमालसँगै यतिबेला अब फुटबलको नवयुग आउने आश नेपाली दर्शकमा देखिएको छ । तर, दुःखको कुरा, लगालग तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा कमालको प्रर्दशन गरेका नेपाली फुटबलरहरु आगामी दुई वर्षसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने छैनन् ।

यो कुनै प्रतिबन्धका कारण भने होइन । यसबीचमा नेपाल आफैले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछैन भने एएफसी वा फिफाको आयोजनामा हुने ठुला प्रतियोगितामा नेपाल सहभागी छैन ।

अहिलेसम्मको तालिकाअनुसार सन् २०१७ को अन्तिममा बंगलादेशमा हुने साफ च्याम्पियनसीप नै नेपालको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ । यद्यपी अर्को बर्ष हुने बंगबन्धु गोल्डकपमा भने साविक विजेताको हैसियतमा नेपाललाई बोलाउन सक्छ ।

त्यसयता नेपाली फुटवल टीम प्रतियोगिताबिहीन अबस्थामा घरेलु खेलमा चित्त बुझाएर बस्नुपर्ने छ ।

यसबीचमा नेपाली टोलीलाई चुस्त दुरुस्त राख्नको लागि चुनौती त छ नै खेलाडीलाई म्याच एक्स्पोजर दिलाउनु अखिल नेपाल फुटबल संघ एन्फाको अर्को चुनौति बनेको छ ।

त्यसमाथि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक पद नै रिक्त छ । गत डिसेम्बरमा प्याट्रिक ओसम्सले सम्झौता सकिन दुई महिनाअघि नै जिम्मेवारी छोडेर हिडेपछि नेपाली राष्ट्रिय टोली प्रमुख प्रशिक्षकबिहीन छ ।

नेपालको प्रमुख प्रशिक्षक नियुक्तिका लागि एन्फा गृहकार्यमा छ । नेपालले गत महिना जापानी नागरिक तेकेदा चियाकीलाई फुटबलको टेक्निकल डाइरेक्टरमा नियुक्त गरेको थियो ।

त्यसैले उनैसँग छलफल गरेर नेपालले जापानी प्रशिक्षकसँग अवुबन्धको लागि पहल सुरु गरेको छ । जापानी फुटवल संघको सहयोगमा चियाकी टेक्निकल डाइरेक्टरको रुपमा नेपाल आएका थिए । एन्फाको पहलले सकारात्मक नतिजा ल्याएमा ग्यातुकी कोजी नेपाली फुटवलको नयाँ प्रशिक्षक हुनेछन् ।

अन्तराष्ट्रिय प्रतियोगिता नभएपनि राष्ट्रिय टोलीलाई अभ्यस्त बनाइराख्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटवलको आयोजना गर्ने एन्फाले बताएको छ ।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बर्षभरी नै मैत्रिपूर्ण फुटबलबाट राष्ट्रिय टोलीलाई व्यस्त बनाइराख्ने तयारी भइरहेको बताए । उनले भने मार्चमा मैत्रिपूर्ण फुटबलका लागि मलेसियासँग कुरा गरिरहेका छौं ।’

फुटबल बिश्लेषक सञ्जीव मिश्र हरेक तीन महिनामा राष्ट्रिय टोलीले कम्तिमा एउटा मैत्रिपूर्ण फुटबल खेल्नुपर्ने बताउँछन् । ‘पछिल्ला दुई–तीनवटा प्रतियोगितामा उल्लेख्य प्रदर्शन गरेर नेपालले जीतको सुरु गरेको छ’ मिश्रले भने, ‘त्यसलाई निरन्तरता दिन धेरैभन्दा धेरै म्याच एस्पोजरको खाँचो छ ।’

घरेलु प्रतियोगिता पनि अपुग

खेलाडीलाई फिट राखिराख्न घरेलु प्रतियोगितामा पनि व्यस्त बनाइरहनुपर्ने फुटबल बिश्लेषकहरु बताउँछन् । तर, वैशाख १२ को विनाशकारी भूकम्पका कारण अघिल्लो बर्षको लिग पछि सर्दा यसबर्ष लिग नहुने निश्चित छ । त्यस्तै नकआउट प्रतियोगिताहरुमा खेलाडीहरु बर्षभरी व्यस्त रहने अवस्था पनि छैन् । बिश्लेषक मिश्र भन्छन्, ‘लिग हुन नसकेका कारण एन्फाले नकआउट प्रतियोगिता गराउनुपर्छ ।’

राष्ट्रिय खेलकुद परिषदका फुटबलका प्रमुख प्रशिक्षक ध्रुब केसी भने मैत्रिपूर्ण फुटबलले मात्र नपुग्ने बताउँछन् ।

नेपाल आफैंले अन्तर्राष्ट्रिय नकआउट प्रतियोगिता आयोजना गर्नुपर्ने भन्दै उनले भने(‘बंगबन्धुजस्तै प्रतियोगिता नेपालमा पनि गर्न सकिन्छ । पुरस्कार राशी धेरै राखेमा उत्कृष्ट टोलीहरुले सहभागिता जनाउँछन् । त्यसका लागि एन्फाले सरकारसँग गृहकार्य गर्नुपर्छ ।’
अनलाईन खबर ।