जिसी हत्या प्रकरणः थप छ जना सहित चौध जनासंग अनुसन्धान जारी, प्रहरी अनुसन्धानको अन्तिम चरणमा, रोशनको शनिवार नै पोष्टमार्टम गरि अन्त्येष्टि गरिने


१७ भाद्र, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १० पठानटोलमा आपसी बिवादकै कारण अनाहकमा ज्यान गुमाएका रोशन जि.सीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले थप छ जनालाई आज हिरासमा राखि अनुसन्धान गरिरहेको छ ।

तिजको दिन नाच हेर्ने क्रममा वीरेन्द्रनगर नगरपालिका वडा न‌ं.१० बामेखोलामा भएको विवाद पछि रोशन जि.सीको हत्या भएको थियो । जि.सीको हत्या लगतै परिवारले दिएको किटानी जाहेरीको आधारमा शुक्रबार (आज) थप छ जना सहित हाल सम्म चौध जनालाई हिरासतमा लिई अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिनुभएको छ । उहांका अनुसार घटनाको सबै प्रारम्भिक अनुसन्धान सकेका छौ, हामि अनुसन्धानको अन्तिम चरणमा पुगेता पनि अहिले सम्म शवको पोष्टमार्टम नभएर पोष्टमार्टम रिपोर्ट बाँकी नै रहेको हुँदा अन्तिम परिणाम बाहिर आउन केहि समय लाग्ने छ ।

मृतकका बुवा गणेश जि.सि.ले शनिवार छोराको पोष्टमार्टम पश्चात अन्त्येष्टि गर्ने बताउनु भयो । उहांले भन्नु भयो मेरो छोराको हत्या भएको दिन देखि नै हामिले दिएको किटानी जाहेरीको आधारमा सम्पूर्ण व्यक्तिहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको भए हामिले छोराको पोष्टमार्टम गरि अन्त्येष्टि गरि सक्ने थियौ । तर समयमा नै अनुसन्धान गर्न नसेकेकै कारण हामिले छोराको न्यायका लागि लडेका हौ ।

बिचमा हामिलाई प्रहरी प्रशासन प्रति आशंका लागेर आएको थियो । मेरो छोरा रोशनको हत्या प्रकृति हेर्दा एक/दुई जनाले मात्र उसको हत्या गर्न नसक्ने अवस्थामा भएको र छोराको हत्यामा संलग्न अन्य व्यक्तिहरुलाई अनुसन्धान भित्र नल्याए सम्म छोराको पोष्टमार्टम नगर्ने भएकै हुँदा आज सम्म छोराको न्यायकै लागि बसिरह्यौ तर हामिले दिएको किटानी जाहेरीमा उल्लेख गरेका ब्यक्तिहरु मध्य थप छ जनालाई हिरासतमा लिई अनुसन्धान प्रक्रिया अगाडि बढाएको हुँदा शनिवार (भोली) पोष्टमार्टम पश्चात अन्त्येष्टि गर्ने छौ ।