पत्रकार महासंघको केन्द्रिय साधारण सभा सुर्खेतमा हुँदै


१५ असोज, सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम गरेको छ । ‍

महासंघले विजया दशम, शुभदिपावली छठ पर्व तथा नेपाल सम्वत् ११४३ को शुभअवसरमा शुभकामना आदानप्रदान तथा महासंघको आउँदो पौषको ८ र ९ गते सम्पन्न हुने केन्द्रिय साधारण सभाको व्यवस्थापनका बारेमा छलफल गरेको हो ।

महासंघका केन्द्रिय कोषाध्यक्ष कलेन्द्र सेजुवालले कर्णाली क्षेत्रमा नै पत्रकारहरुको छाता संगठनको केन्द्रिय साधारण सभा हुने लागेको हुँदा सम्पूर्ण पत्रकार साथीहरुलाई कार्यक्रम भव्य र सभ्य तरिकाले सम्पन्न गर्नकालागि लागि पर्न अनुरोध गर्नुभयो ।

महासंघका केन्द्रिय सदस्य दिपेन्द्र शर्माले कार्यक्रम सफल बनाउनकालागि स्थानीय सरकार प्रदेश सरकार संग सहकार्य गर्न सकिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले  सुर्खेतमा हुने केन्द्रिय साधारण सभालाई ऐतिहासिक बनाउन सबैको भुमिका महत्वपूर्ण हुने बताउँदै प्रचार-प्रसारमा जोड दिन अनुरोध गर्नुभयो ।

कार्यक्रममा देशभरका ७ सय पत्रकारहरू सहभागी हुने  बताइएको छ ।