विगतका सम्झौता कार्यान्वयनमा प्रमको जोड


prachanda4प्रधानमन्त्री प्रचण्डले बिहीबारदेखि शुरु हुने आफ्नो भारत भ्रमणको क्रममा विगतका विकास सम्झौता तोकिएको समयभित्रै कार्यान्वयन गराउनमा ध्यान केन्द्रित गर्ने बताएका छन्।

वर्षौंअघि दुईपक्षीय समझदारी भएर पनि महाकाली-पंचेश्वर बहुउद्देश्यीय आयोजना, पूर्व-पश्चिम रेलमार्ग जस्ता आयोजनाका काममा ठोस प्रगति हुन सकेको छैन।

यसपटक चाहिं विभिन्न अवरुद्ध आयोजनाहरुलाई अघि बढाउने वातावरण तयार गर्दै दुई देशको सम्बन्ध सुधार गर्ने आफ्नो योजना रहेको प्रधानमन्त्रीले मंगलबार साँझ पत्रकारहरुलाई बताए।

योजना

आफ्नो सरकारी निवासमा विदेशी सञ्चारमाध्यमका पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो दिल्ली यात्राका बेला यसपटक नयाँ सन्धि सम्झौता गर्नेभन्दा पनि ढिलाइ भएका वा रोकिएका पुराना सम्झौतालाई कार्यान्वयन गराउन भारतीय अधिकारीहरुसँग वार्ता गरिने बताए।

उनले भने, “विगतमा सहमति सम्झौता भएका तर कार्यान्वयन ढिलो भएका वा नभएकालाई अब कार्यतालिका तोकेरै तीव्रता दिनेतर्फ ध्यान केन्द्रित हुनेछ।”

प्रधानमन्त्रीका अनुसार भारतीय सहयोगमा तराई क्षेत्रमा निर्माण हुन लागेको हुलाकी राजमार्गका अतिरिक्त भारतसँग विद्युत व्यापारलाई सहज बनाउने र सम्भव भएसम्म एक जलविद्युत आयोजना निर्माणमा भारतीय सहयोग भित्र्याउने तयारी भइरहेको छ।

यस अघि सन् २००८ को सेप्टेम्बर महिनामा प्रधानमन्त्री प्रचण्ड दिल्ली यात्रामा जाँदा भारतले पश्चिम नेपालमा नौमुरे जलविद्युत आयोजना निर्माणमा सहयोग गर्ने सहमति गरेको थियो, तर त्यो वाचा अझै पुरा भएको छैन।

गृहकार्य

यसपटक भारतीय सहयोगमा ४०० मेगावाटको तल्लो अरुण आयोजना निर्माणको बाटो खोल्न गृहकार्य भइरहेको पनि प्रधानमन्त्रीले बताए।

उनले भने, “म पहिला भारत जाँदा भारतले गणतन्त्र नेपाललाई उपहारको रुपमा बनाउन सहयोग गरिदिने भनेको नौमुरे आयोजना बन्न सकेन। तर यसपटक तल्लो अरुण आयोजना भारतीय सहयोगमा बनाउने सम्भावनाबारे छलफल भइरहेको छ।”

आफ्नो चार दिने भारत भ्रमणअघि प्रधानमन्त्रीले विभिन्न क्षेत्रका व्यक्तिबाट सुझाव लिने क्रममा विभिन्न राजनीतिक दलका नेता तथा पूर्व प्रधानमन्त्रीहरुलाई भेटेका थिए।

दिल्ली जानु एक दिनअघि बुधबार उनले संघीय गठवन्धनमा आबद्ध संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग बैठक गर्दैछन्।

साभारः विविसी