रियो ओलिम्पिक्सको भव्य शुरुवात


160805233133_rio_olympic_openning_640x360_afpgetty_nocreditरियो द जनिरो शहरस्थित मराकाना रंगशालामा आफ्नो समृद्ध सांस्कृतिक धरोहर तथा जातिय विविधताको झाँकी प्रदर्शन सहित ब्रजिलको ओलिम्पिक प्रतियोगिताको उदघाटन समारोह भएको छ।

उक्त समारोहमा दुई सयभन्दा धेरै देशका खेलाडीहरुले ७५ हजार दर्शकका सामु आ आफ्ना देशका झण्डा बोकेर परेड गरिरहेका छन्।

यस पटकको ओलिम्पिक खेलमा पहिलोपटक शरणार्थीहरुको छुट्टै टोली समावेश गरिएको छ। जसमा १० खेलाडी सामेल छन्।

यसअघि ब्रजिलका प्रसिद्ध फुटबल खेलाडी पेलेले खेलस्थलमा ओलिम्पिक टर्च बाल्ने भनिएकोमा उनले स्वास्थ्यका कारण त्यसो गर्न असमर्थ रहेको जनाएका छन्।

विवाद

यसपालीको ओलिम्पिक प्रतियोगिता अगाडी थुप्रै विवाद र समस्या पनि देखा परेका थिए।


रुसका खेलाडीहरु अवैध औषधि प्रयोग डोपिंग विवादमा परे भने जीका भाइरसको संक्रमण तथा सुरक्षा व्यवस्थालाई लिएर पनि प्रश्न उठे।

साथै हाल गहिरो आर्थिक तथा राजनीतिक संकटमा फसेको ब्रजिलमा कैयौं मानिसहरु उच्च आयोजन खर्चलाई लिएर आक्रोशित मात्र भएनन् ठाउँठाउँमा विरोध प्रदर्शनमा समेत उत्रिए।

दक्षिण अमेरिकी देशमा आयोजित यो पहिलो ओलिम्पिक खेल हो।

नेपालको सहभागिता

उक्त रियो ओलिम्पिकमा नेपालबाट सातजना खेलाडीले भाग लिंदैछन्।

एथलेटिक्स तर्फ पाँच हजार मीटरको मध्यम दुरीको दौडमा हरि रिमाल तथा १५ सय मीटर दौडमा सरस्वती भट्टराईले भाग लिनेछन्।

त्यस्तै फुपु ल्हामु खत्रीले जुडोमा प्रतिस्पर्धा गर्नेछिन्। उनले गत वर्षको दक्षिण एशियाली खेलकूदमा स्वर्ण पदक जितेकी थिइन्।

पौडीतर्फ नेपालका दुई खेलाडीले रियोमा भाग लिनेछन्।


नेपाली पौडी खेलाडी गौरीका सिंह रियो ओलिम्पिक्सकै सबभन्दा कान्छी खेलाडी हुन्। यी बाहेक तेक्वान्दो तथा आर्चरीमा एक, एक जना नेपाली खेलाडीले भाग लिनेछन्।

साभारः विविसी