जाजरकोटमा राहत सामाग्री पुर्याउँदै विभिन्न संघसंस्थाहरु

२० कार्तिक, सुर्खेत । गएको शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्‍याग्निच्यूडको भूकम्पबाट पिडितहरुकालागि विभिन्न संघसस्थाहरुले जाजरकोटमा राहत सामाग्रीहरु हस्तान्तरण गर्ने क्रम बढी रहेको छ ।

राहत वितरण गर्ने क्रममा सूर्य नेपाल प्रा.लि. ले भूकम्पबाट पीडित बनेका नागरिकहरुकालागि ५ सय बोरा चामल, ८५ बोरा दाल, ५ सय थान ब्लाङ्केट र ५ सय थान त्रिपालसहितको राहत सामाग्री सहयोग गरेको छ । उक्त राहत सामाग्री सूर्य नेपाल कर्णाली प्रदेश इन्चार्ज विदुर अधिकारी र क्षेत्रिय प्रवधन्क सुवास चन्द बरालले जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्मालाई हस्तान्तरण गर्नुभएको छ ।

जाजरकोटमा राहत सामाग्री आफूखुशी बाढ्न प्रशासनले रोक लगाएको छ । प्रशासनले राहत सामाग्रीहरुलाई एकद्वार प्रणाली मार्फत वितरण गरेको छ ।

यसैवीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राहत तथा उद्दार लगाएत तथा अन्य कार्यमा राज्यका संयन्त्रहरूसँग आवश्यक समन्वय गर्नका लागि विभिन्न समिति गठन गरेको छ । रास्वपाले सुमना श्रेष्ठलाई व्यवस्थापन, डा. तोसिमा कार्की, डा. प्रभात अधिकारीलाई स्वास्थ्य उद्दार, विष्णु कुमार श्रेष्ठलाई राहत तथा उद्दार र प्रतिभा रावलको नेतृत्वमा टिम व्यवस्थापन समन्वय समिति गठन गरेको छ । प्रभावित क्षेत्रमा रास्वपाका सभापति रवि लामिछाने पनि खटिनुभएको छ ।