तेश्रो कर्णाली एक्सपो २०८० संचालन गर्न बाटो खुल्यो / भोली मंगलवार देखि महोत्सव शुरु हुँदै (अपडेट)


१४ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा संचालन हुन लागेको तेश्रो कर्णाली एक्सपो २०८० संचालन गर्नकालागि उच्च अदालत सुर्खेत बाटो खोलिदिएको छ । उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र न्यायाधीश खड्क बहादुर केसीको संयुक्त इजलासले कानुनबमोजिम एक्सपो सञ्चालनको कार्य गर्न आदेश दिएको हो ।

यही फागुन १२ गते उच्च अदालत सुर्खेतमा रिट परेपछी उच्च अदालतले महोत्सव नगर्न अन्तरिम आदेश जारी गरे सँग महोत्सव स्थगित भएको थियो ।

आज नै उच्च अदालत सुर्खेतले ‘तेस्रो कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गतेसम्म सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बालमन्दिर विद्यालयको पठन पाठन सकिएर मिति चैत १ गतेदेखि परीक्षा सञ्चालन हुने भन्ने देखिँदा यस अदालतबाट मिति भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानुन बमोजिम गर्नू ।’ आदेशमा भनिएको छ ।

यसैवीच सुर्खेत उद्योग बाणिज्य संघले भोली फागुन १५ गते नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले एक्सपो (महोत्सव)को उद्घाटन गर्नुहुने फेसबुक मार्फत जनाएको छ ।