बेमौसमी बर्षाले जताततै क्षती


३ कार्तिक, सुर्खेत । अहिले दशैंको वेलामा परिरहेको वेमौसमी बर्षाले देशको धेरैजसो ठाँउमा क्षती पुर्याएको छ ।

मौसम पूर्वाअनुमान महाशाखाका अनुसार भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेका न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा पानी परेको जनाएको छ ।

लगातारको वर्षासँगै आएको बाढी-पहिरोमा परी डोटीमा ८ जना, बैतडीमा ३ जना र सुनसरीमा २ जना तथा कालीकोट र डडेलधुरामा १/१ जनाको मृत्यु भएको बताइएको छ । त्यसतै बझाङमा पहिरोका कारण चार घरपरिवार सम्पर्कविहीन भएकाछन् भने महाकालीमा फसेका ५ जनाको सेनाले हेलिकप्टरद्वारा उद्दार गरेको छ ।

यस्तै पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्लाका सबै सडक अवरुद्ध भएका छन् । पहिरोले घर पुर्दा कालिकोटको महावै गाउँपालिका–७, राम्नीमा १८ वर्षीया स्मृति अधिकारीको मृत्यु भएको छ । यसैगरी, जुम्लामा हिमा नदीको बाढीले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा हिमा गाउँपालिका–६ की ३३ वर्षीया रम्ता शाहीको बगेर मृत्यु भएको छ भने हुम्लामा पहिरोले एकै घरका ६ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो ।

त्यस्तै अविरल बर्षाका कारण आएको बाढीले सुर्खेत कैलाली जोड्ने बन्न लागेको पुलको निर्माण सामाग्री बगेको छ । चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो ।

सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) ठाउँ–ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

यसैवीच अविरल बर्षापछि विराटनगर विमानस्थल जलमग्न भएपछि विराटनगरमा हवाइ सेवा अवरुद्ध भएको छ भने इनरुवाको विद्युत सबस्टेशन पनि डुवानमा परेको छ ।

(विभिन्न अनलाइनको सहयोगमा)