सामाजिक रुपान्तरणमा नागरिक समूह संस्थाहरुको महत्वपूर्ण भूमिका छः मुख्यमन्त्री कँडेल



२९ सावन, सुर्खेत ।  कर्णाली प्रदेस सरकारका मुख्यमन्त्री यामलाल कँडेलले संविधानमा सुनिश्चित गरिएका नागरिकका अधिकार प्रत्याभूति गराउनका लागि सरकारी गैरसरकारी क्षेत्र सबै एकबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।

समाज जागरण केन्द्र (स्याक) नेपालको ३० औँ स्थापना दिवस तथा २९ औँ साधारणसभा उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कंडेलले सरकार र गैरसरकारी निकायपछि बलियो सहकार्य आवश्यक पर्ने बताउनुभएको हो । कर्णालीमा सामाजिक रुपान्तरणका लागि स्याक नेपाल लगायतका नागरिक समूह संस्थाहरुले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै मुख्यमन्त्री कंडेलले आगामी दिनमा सरकारसंग थप सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

एक्लै हिड्न खोजे कोही पनि गन्तव्यमा नपुग्ने औँल्याउँदै सरकार संगको सहकार्यलाई आत्मसाथ गर्न मुख्यमन्त्री कंडेलले सुझाव समेत दिनुभएको छ । उहाँले कर्णाली प्रदेश प्राकृतिक स्रोत र साधनका रुपले धनि रहेकाले यसको विवेक पुर्ण प्रयोग गर्नसके नागरीकको आर्थिक तथा सामाजिक अवस्थालाई सजिलै परिवर्त गर्न सकिने भन्दै विकास साझेदारहरुलाई त्यस दिशा तर्फ अगाडि बढ्न आग्रह समेत गर्नु भयो ।

स्याक नेपालका संरक्षक डा. सुरेश तिवारीले समाजमा व्याप्त हिंसा, दुर्व्यवहार, विभेद लगायत हानिकारक अभ्यासहरुलाई न्यूनीकरणका लागि आफूबाट नै केही गर्नुपर्छ भन्ने सोचका साथ वीरेन्द्रनगर १२ का युवाहरुले स्याक नेपालको स्थापना गरेको स्मरण गर्दै ३० बर्षसम्म आइपुग्दा उद्देश्य अनुरुप धेरै कामहरु गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नागरिकको अवस्था परिवर्तनका लागि सामाजिक रुपान्तरण महत्वपूर्ण हुने भन्दै आगामी दिनमा स्याक आफ्नो अभियानमा निरन्तर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

“अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु वेस” भन्ने मुल नाराका साथ वि.सं २०५२ सालमा स्याक नेपालको स्थापना भएको हो । महिला बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्न योगदान गर्ने संस्थाको परिकल्पना रहेको छ । संस्थाले लिएका लक्ष्य उद्देश्य एवं परिकल्पना पूरा गर्न स्याक नेपाल निरन्तर लागिरहने अध्यक्ष मिना तिवारी शर्माले बताउनुभयो ।

संस्थाले रक्तदान लगायतका विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ । संस्थाले हालसम्म शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई एवम् स्वच्छता, सुरक्षित मातृत्व, एचआइभी एड्स, खाद्य सुरक्षा, संस्थागत विकास, महिलाअधिकार, बालअधिकार, सिमान्तवर्गको अधिकार, विपद व्यवस्थापन, मानवअधिकार, कोभिड १९ प्रतिकार्य, भूकम्प प्रतिकार्य, संस्थागत विकास, जलवायु परिवर्तन, आयआर्जन तथा जीविकोपार्जन, मानवीय सहायता, किशोरकिशोरी प्रजनन् स्वास्थ्य लगायतका क्षेत्रमा कार्यहरू गरिसकेको संस्थाका महासचिव गंगा गुरुङ्गले बताउनुभयो ।

संस्थाले राखेको परिकल्पना, ध्येय, लक्ष्य, उद्देश्य पूरा गर्नका लागि विभिन्न साझेदार संस्थाको सहयोगमा हालसम्म नेपालका विभिन्न १८ जिल्लाहरूमा काम गरिसकेको र हाल कर्णाली प्रदेशका दशवटै जिल्लाका ३० वटा स्थानीय तहहरूमा कार्यक्रम कार्यान्वयन भइरहेको महासचिव गुरुङ्गले जानकारी दिनुभयो ।