यसरी आएको थियो देशमा प्रजातन्त्र


काठमाडौं, फागुन ७ – प्रजातन्त्र दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनार्इंंदैछ । विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।
एक सय चारवर्षीय जहानियाँ राणाशासनको अन्त्य गर्दै राजा त्रिभुवन शाहले नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा गर्नुभएको थियो । राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
सन् १८४६ मा शासन गरिरहेकी रानीकी सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरू गरे र राणा शासन लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो।
राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सेपोई रेबेल्योन (प्रथम भारतीय स्वतन्त्रता सँग्राम०, र पछि दुबै विश्व युद्धहरूमा सगाएका थिए। सन् १९२३ मा संयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्वीकार्यो ।
१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे। जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्मशम्शेरले नेपाल सरकारको बैधानिक कानून २००४ लागू गरे।
त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्योन जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरूप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली कङ्ग्रेस पार्टिको सहभगिता थियो।
प्रजातन्त्रको घोषणा सँगै राणा र कांग्रेस दुवै पक्षको सहभागिता गराई एक मन्त्रिपरिषद्को घोषणा भयो। नेपालको अन्तरिम शासन विधान २००७ जारी गरियो। त्यसपछि हरेक बर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ।
२००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रजा परिषद्, नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए।
नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा बडाहाकिमहरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो।
प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि नागरिकमा जागरण फैल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।
विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र आन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना गरेको थियो । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले हरेक वर्ष टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ । सरकारले आज  सार्वजनिक बिदा समेत दिने गरेको  छ ।  

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबै नेपालीलाई लोकतन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
दिवसका अवसरमा दिनुभएको सन्देशमा उहाँले नागरिकको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन गरी अब आर्थिक सामाजिक समृद्धितर्फको यात्रा तय गरेर नै लोकतन्त्रको सुदृढीकरणका साथै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले २००७ सालको जनआन्दोलनमार्फत सार्वभौम नेपाली नागरिकको अजेय शक्तिले निरङ्कुश राणा जहानियाँ शासनलाई घुँडा टेकाएको आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको बताउनुभएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकको सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको उपलक्ष्यमा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
नेपाली नागरिकले गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारण अहिले मुलुक समावेशी लोकतन्त्र र सङ्घीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको उहाँले उल्लेख गर्नुभएको छ ।
साभारः उज्यालो अनलाइन