पवन जायसवाल ।
१३ भाद्र, नेपालगन्ज÷(बाँके) । मानवसेवा आश्रमको १२ औं वार्षिकोत्सवको अवसरमा २४ वटा शाखामा आयोजित रक्तदान कार्यक्रममा जनपद प्रहरी, सशस्त्र प्रहरी र स्काउट सहित ४ सय ३६ जनाले रक्तदान गरेका छन् । मानवसेवा आश्रम नेपालगन्जमा आयोजित रक्तदान कार्यक्रममा ६ जना स्काउट सहित ३३ जनाले आज बिहीवार रक्तदान गरेका छन् ।
मकवानपुरमा केन्द्रिय कार्यालय रहेको मानव सेवा आश्रमको नेपालगन्जस्थित सेवा आश्रमले पनि आश्रमको परिसर भित्र आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो । १९ जिल्लाका २४ वटा शाखा कार्यालयबाट आज एकसाथ रक्तदान गरिएको छ । सो अवसरमा २४ वटा शाखामा ४ सय ३६ जनाले रक्तदान गरेका थिए भने लुम्बिनी प्रदेशको बाँकेमा ३३ जना, रुपन्देहीमा २३ जना र दाङमा १४ जना समेत प्रदेशभर ६७ जनाले रक्तदान गरेका थिए ।
देशभरका २४ शाखामा १ हजार ८ सय जना असहाय रहेको छ भने नेपालगन्ज स्थित मानव सेवा आश्रममा ५५ जना असहायहरु आश्रित रहेको नेपालगन्ज शाखाका प्रमुख उर्विन सापकोटाले जानकारी दिनु भयो ।
नेपालगन्ज स्थित मानव सेवा आश्रममा आश्रित बेसहाराहरुको लालन पालन, स्वास्थ्य लगायतका सेवा गर्दै सडकपेटिमा अलपत्र परेका असहाय, अशक्त, बेसाहरा, अभिभावक तथा आमाबुवा बिहिन व्यक्तिलाई मानव सेवा आश्रमले सहारा दिँदै आएको छ । आफ्नो स्थापनाको १२ औं वर्षमा आउँदासम्म विभिन्न क्षेत्रमा मानवीय कार्य गरिरहेको र त्यसै अन्तर्गत विभिन्न अस्पतालमा आउने विरामीलाई सँधै रगतको अभाव भोग्नु परेकोले रक्तदान गरिएको सापकोटाले जानकारी दिनुभयो ।
आश्रमका अभिभावक, समाजसेवी तथा जग्गादाता जे.के. सिंह, नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल शिक्षक संघ नगर समितिका अध्यक्ष मनोजराजा श्रीवास्तवले प्राविधिकलाई रगत संकलन गर्ने थैली हस्तान्तरण गरी शुभारम्भ गरिएको उक्त रक्तदान कार्यक्रममा नेपाल स्काउट जेभीएन स्काउट क्रिउका प्रमुख आयुक्त प्रतीक खडका, प्रकृति बोगटी, अर्पणा आचार्य, पूर्णिमा आचार्य, प्रकृति काफ्ले, रेनुका ऐरी, रेजिना थापामगर, बविता खडका, प्रतिक सेन, मनिराम जैसी, धमेन्द्र राजकोटी लगायतले सहयोग गरेका थिए ।
कार्यक्रममा आश्रमका अभिभावक विष्णु प्रसाद मैनाली, बाँकेका शतक रक्तदाता पवन जायसवाल, मानव सेवा आश्रम नेपालगन्जका पदाधिकारी, स्वयम्सेवक, कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी लगायत करीब दुई दर्जन बढीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, प्रशान्त तिवारी, नबिस्ता राना, केशर सिंह डाँगी र बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गरेका थिए ।
यसैगरी आजै एकल महिला द्वन्द पीडित संघ बाँकेले आयोजना गरेका रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।
Prawash Kumar Shakya । १३ भाद्र २०८१, बिहीबार १७:२६ बजे