वनभोज खान काँक्रेविहार जादै हुनुहुन्छ? होशियार । दुःख पाइएला नी


२१ कार्तिक, सुर्खेत । भरखर हिन्दु नेपालीहरुको महान चाड दशैं र तिहार सकिएको छ । तिहारमा देउसीभैलो खेलेर अधिकाँसले प्राय वनभोज खानेजाने प्रचलन रहि आएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा बसोबास गर्ने स्थानीयहरुको वनभोज खाने थलो नजिकमा भनेको बुलबुले ताल र काँक्रेविहार रहेको छ भने बाहिरी जिल्लाबाट पनि कहिलेकाही संरक्षित वन काँक्रेविहारमा वनभोज खान आउने गरेको पाईन्छ । तर अब यो बर्षदेखि काँक्रेविहारमा वनभोज खान प्रतिवन्ध गरिएको छ ।

यसैवीच यही कार्तिक २० गते डिभिजन वन कार्यालय सुर्खेतले एक सूचना जारी गर्दै नेपालको पहिलो संरक्षित वन काँक्रेविहारमा वनभोज खान प्रतिवन्ध लगाएको छ । सूचनामा डिभिजन वन कार्यालयले काँक्रेविहार संरक्षित वन भित्र वनभोज तथा पार्टीहरु गर्दा होहल्ला हुने गतिविधीहरुले वन्यजन्तु तथा जैविक विविधतामा नकारात्मक प्रभाव पार्ने भएकोले यस्ता गतिविधीहरु पूर्णरुपमा निषेश गरेको र त्यस्ता गतिविधीहरु सञ्चालन गर्नेलाई वन ऐन २०७६ अनुसार कारवाही गरिने जनाइएको छ ।

यता सामाजिक अभियन्ता नवराज बोहोरा “भेडा”ले डिभिजन वन कार्यालयको काम प्रति खुशी व्यक्त गर्नुभएको छ । उहाँले २०८० पौष २० गते डिभिजन वन कार्यालयलाई यस्ता किसिमका गतिविधीहरु संरक्षित काँक्रेविहार वनमा प्रतिवन्ध लगाउनकालागि निवेदन दर्ता गराउनु भएको थियो ।