कुनैपनि काममा लगातार लागि रहे सफलता अवश्य मिल्छ भन्ने कुरा यति वेला केही हदसम्म साकार भएको छ । दानमा दिइएको रगत र रक्ततत्व पीडित (विरामी) पक्षले निःशुल्क पाउनुपर्छ भनी सम्वन्धित विभिन्न निकायमा छलफल, ज्ञापन पत्रहरु बुझाउँदै स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारलाई घचघच्याउँदै आएको छ नेपाल स्वयंसेवी रक्तदाता समाज । समाजका राष्ट्रिय अध्यक्ष एवं नेपालका सर्वाधिक शतक रक्तदाता रक्तसम्राट प्रेमसागर कर्माचार्य यतिवेला अहोरात्र रगत र रक्ततत्वको कारण कसैको ज्यान नजाओस् भन्दै देशदौडाह गरिरहनु भएको छ ।
गत भाद्र ११ गते कर्माचार्यले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाही सँग आफ्ना प्रदेशका नागरिकलाई रगत र रक्ततत्व निःशुल्क गर्नकालागि अनुरोध गर्नुभएको थियो । आज त्यो मागलाई सुदूरपश्चिम सरकारले पूरा गरिदिएकोले आफू निक्कै गौरान्वित भएको कर्माचार्यले बताउनुभयो । उहाँ भन्नुहुन्छ “रगत र रक्त-तत्वहरूलाई सुदुरपश्चिम सरकारले आफ्ना नागरिकहरूलाई नि:शुल्क वितरणकाे व्यवस्था गरेर स्वागत योग्य निर्णय गरेको छ । देशभित्र रहेकाे सात प्रदेश मध्ये चार प्रदेश (बागमती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम) सरकारले हाम्रो मागलाई सम्बाेधन गरेर स्वयंसेवी रक्तदाताहरूकाे रगतलाई उच्च सम्मान गरि धन्यवादका पात्र बन्न सफल भएको छ भने बाँकी प्रदेश सरकारको चेत कहिले खुल्ने होला ? याे जिज्ञासाकाे विषय बनेकाे छ ।”
Prawash Kumar Shakya । २२ पुष २०८१, सोमबार ०९:३३ बजे