बुटवलमा ब्लड बैंक संचालन गर्दै स्वयंसेवी रक्तदाता सहकारी


१९ पुस, बुटवल । रक्तदान अभियानमार्फत आफ्नै छुट्टै पहिचान बनाउँदै आएको स्वयंसेवी रक्तदाता सहकारी संस्था लिमिटेडले रुपन्देहीले ब्लड बैंक स्थापना गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

शनिबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारण सभामा प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष एवं स्वयंसेवी रक्तदाता कृष्ण चौहान क्षेत्रीले एक सय शैयाको अस्पतालसँग सहकार्य गरेर ब्लड बैंक सञ्चालन गर्ने योजना लगभग अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय अस्पतालसँग सहकार्य गरेर ब्लड बैंक सञ्चालन गर्न सकिने व्यवस्था अनुसार रुपन्देहीका दुई अस्पतालसँग पत्राचार गरिएको छ, जसमध्ये क्रिमसन अस्पतालसँग तीन चरणसम्म छलफल भइसकेको छ । सहकारीको फरक पहिचान बनाउँदै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर ब्लड बैंक स्थापना गर्ने अभियान अघि बढाइएको उहाँले स्पष्ट पार्नुभयो ।

साधारण सभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका उद्योग वाणिज्य, लघु उद्यम तथा सहकारी शाखा प्रमुख गुणाकर खनालले केही सहकारीका कारण समग्र सहकारी क्षेत्र बदनाम भएको उल्लेख गर्नुभयो । तर तपाईंहरूकै जस्तो स्थानीय शेयर सदस्यहरूको सक्रिय सहभागितामा स्थापना भएका सहकारीमा भने खासै समस्या नदेखिएको उहाँको भनाइ थियो । सहकारीको वास्तविक पहिचान शेयर सदस्यहरूको भूमिकाले निर्धारण गर्ने भन्दै उहाँले तपाईंहरूलाई सचेत र चनाखो रहन आग्रह गर्नुभयो । देशभर करिब ३३ हजार सहकारी रहेको उल्लेख गर्दै उहाँले रुपन्देही जिल्लामै एक हजारभन्दा बढी सहकारी रहेको जानकारी दिनुभयो । बुटवलमा मात्रै २५० सहकारीमध्ये १३२ वटा उपमहानगरपालिकामा दर्ता रहेको र प्रदेशस्तरमा दर्ता भएका संस्थाहरूमा पर्याप्त नियमन नहुँदा समस्या देखिएको उहाँको दाबी थियो ।

कार्यक्रममा संस्थाको वार्षिक बजेट तथा आर्थिक प्रगति विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष प्रशन्न श्रेष्ठले शेयर सदस्यहरूबाट शेयर वृद्धि गर्दै पूँजी १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी तपाईंहरूलाई गराउनुभयो । रक्तदान अभियानमा सक्रिय स्वयंसेवी रक्तदाताहरूलाई एकताबद्ध गर्दै सहकारी शिक्षाको प्रचार–प्रसारमा समेत संस्थाले जोड दिएको उहाँले बताउनुभयो ।

साधारण सभामा बोल्दै शेयर सदस्य महेन्द्र शर्मा र पुष्पा रायमाझीले रक्तदाताहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवामा अग्रसर गराउने र ब्लड बैंक स्थापना गर्ने मुख्य उद्देश्यकै कारण आफूहरू यस संस्थाप्रति आकर्षित भएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले स्थानीय स्तरमा स्थापना भएका कुनै पनि सहकारी डुबेको इतिहास नरहेको उल्लेख गर्दै तपाईंहरूकै संस्थाले उत्कृष्ट सहकारीको पहिचान बनाउन सफल होस् भन्ने शुभकामना दिनुभयो । बैंकमा तरलता भए पनि बजारमा लगानीको वातावरण नबनेको भन्दै उहाँले राजनीतिक अस्थिरता र आन्दोलन नरोकिनेसम्म आर्थिक समृद्धि सपनामै सीमित हुने तर्क राख्नुभयो । “१२ खर्ब रुपैयाँ बैंकमा थुप्रिएको छ,” उहाँले भन्नुभयो, “तर लगानी गर्ने वातावरण छैन ।” बैंक घाटामा नजाने तर उद्योगी–व्यापारी सधैं घाटामा पर्ने सरकारी नीति परिवर्तन आवश्यक रहेको उहाँको धारणा थियो ।

संस्थाका सचिव जानकी नेपालका अनुसार हाल सहकारीमा १५१ जना पुरुष र ६४ जना महिला गरी कुल २१६ जना शेयर सदस्य आबद्ध रहेका छन् । कार्यक्रममा नयाँ शेयर सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।