सुर्खेत, १५ साउन ।
हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सुन्दर नेपाल संस्थाको सहजिकरणमा पश्चिम सुर्खेतको कुनाथरी गाविसमा सञ्चालित साना किसान उद्यमी सुदृढीकर
ण परियोजनाले दुईवटा सहकारी संस्थालाई पशु बीमा रकम र उपहार कोषको रकम हस्तान्तरण गरेको छ । शनिबार एक कार्यक्रमका बीच सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषाल र हेफरका इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत चन्द्रा आचार्य को उपस्थितिमा सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था र भेरीकिनारा समाजिक उद्यमी महिला सहकारी संस्थालाई पशु बीमा र उपहार कोषको रकम हस्तान्तरण गरिएको हो ।
सफलता सहकारीलाई २ लाख ९२ हजार ४ सय ५० र भेरी किनारालाई ४० हजार पशु बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । यस्तै, उपहारकोष अन्तर्गत सफलतालाई १ लाख ९६ हजार ६ सय ७४ रुपैयाँ र भेरी किनारालाई १ लाख ४२ रुपैयाँ हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरणपछि सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाश भुषालले सहकारीमार्फत बेरोजगारीको समस्या समाधान हुने भएकाले क्रियाशिलताका साथ लाग्नआग्रह गरे । उनले उन्नती गर्नका लागि लगनशिलताको आवश्यकता रहेको भन्दै महिलाहरुलाई आर्थिक उन्नतीका लागि सहकारीमार्फत व्यवसाय गर्न सकिने बताए ।
‘एक अर्कामा सहकारी गरी गाउँमै सानो पुँजी संकलन गरेर एकतृत गर्दा धेरै बचत हुन्छ,’ उनले भने, ‘उक्त रकमलाई लगानी गर्नसके गाउँमै महिलाहरुले लाखौं कमाउन सक्छन् र महिलाहरुको आयस्तरमा पनि बृद्धि हुन्छ ।’ उनले महिलाहरुलाई गाउँमा पशुपालन र कृषि उत्पादनको सम्भावना भएकोले महिलाहरुलाई सहकारीमार्फत कृषिमा आवद्ध हुन आग्रह गरे ।
यस्तै, हेफर इन्टरनेशनल नेपालकी कार्यक्रम अधिकृत चन्द्रा आचार्य गाउँमै बाख्रा पालन गरी खसी उत्पादन गर्नसके मनग्य आम्दानी हुने र श्रीमानलाई विदेश पठाउन पनि नपर्ने बताइन् । हेफरले छिट्टै सहकारीमार्फत अर्को परियोजना लागु गर्न लागेको भन्दै महिलाहरुले गाउँमै राम्रो उत्पादन दिन सके हालकै क्षेत्रमा लागु हुने उल्लेख गरिन् । कार्यक्रममा साना किसान उद्यमी सुदृढीकरण परियोजनाका संयोजक पदमबहादुर दर्लामी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सफलता सामाजिक उद्यमी महिला सहकारी संस्था र भेरी किनारा सामाजिक उद्यमी महिला सहकारी संस्थाका पदाधिकारी तथा शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।



Milan Shrestha । १५ श्रावण २०७३, शनिबार १२:२३ बजे