महँगिए नेपाली फिल्मका निर्देशक


13082016091014neplai-film-1000x0श्रावण २९, २०७३- फिल्म ‘कृ’ का लागि नायक अनमोल केसीलाई निर्माताले २० लाख रुपैयाँ पारिश्रमिक दिइएको कुराले लामै समय फिल्म बजार तात्यो । कतिपयले अनमोलले आफ्नो स्टारडमलाई क्यास गर्दै हाई डिमान्ड गर्न थालेको भन्दै आलोचनासमेत गरे । तर अनमोलले उक्त पारिश्रमिकका लागि कसैलाई बाध्य पारेका थिएनन् । बरु निर्माताले नै अनमोलमा त्यति लगानी गरेरै आफ्नो करोडको फिल्म सुरक्षित हुने ठाने । सौगात मल्ल, दयाहाङ राई, खगेन्द्र लामिछानेले पनि एउटा फिल्म खेलेको कम्तीमा १० लाख पारिश्रमिक लिने गर्छन् ।

तुलसी घिमिरे, शिव रेग्मी लगायतले कुनै बेला बनाएको निर्देशकको ‘भ्यालु’ पछिल्लो दुई दशक राजेश हमाल, शिव श्रेष्ठ हुँदै निखिल उप्रेती, विराज भट्टसम्म आइपुग्दा स्वाट्टै घट्यो । अथवा, चल्तीका नायकलाई लिएर फिल्म बनाउँदा निर्देशक चिनिएको वा गतिलो हुनैपर्ने बाध्यता निर्मातालाई पर्न छोड्यो । तर पछिल्लो छिमलका निश्चल बस्नेत, दीपेन्द्र के खनाल, रामबाबु गुरुङजस्ता जोसिला र नयाँ सोच बोकेका निर्देशकको आगमनले यति बेला स्वदेशी फिल्मको परिदृश्य नै फेरिएको छ । उनीहरूको काम राम्रो र नाम चल्तीमा मात्रै छैन, दाम पनि मनग्गे लिइरहेका छन् ।

‘कबड्डी’ सिरिजबाट हिट भएका निर्देशक रामबाबुले यति बेला गर्न लागेको ‘झोले २’ का लागि २५ लाख रुपैयाँ पारिश्रमिक लिए । पहिलो पटक बाहिरी ब्यानरमा काम गर्न लागेका रामबाबु भन्छन्, ‘यसमा मैले २५ लाख रुपैयाँ पारिश्रमिक लिएको छु, जसमा मेरो आफ्नै कम्पनीले एसोसिएट भई ४० प्रतिशत सेयर पनि लिएको छ ।’ त्यसो त उनी आफ्नै फिल्ममा पनि त्यति पारिश्रमिक भ्यालुएसनमा राख्ने गरेको दाबी गर्दै थप्छन्, ‘यस्ता कुरा बाहिर सुन्दा ४०/५० लाख रुपैयाँमै फिल्म बनाउन तम्सिने कतिपय निर्माताहरू आत्तिन पनि सक्छन् । तर एउटा राम्रो प्रोजेक्टमा हाम्रो भ्यालुएसन गर्ने हो भने ४०/५० लाख रुपैयाँ नै पर्ने देखेको छु ।’

‘पशुपति प्रसाद’ पछि यसका निर्देशक दीपेन्द्र के खनालको माग हात्तै बढ्यो । डेब्यु फिल्म ‘द युगदेखि युगसम्म’ गर्दा उनी २४ वर्षका मात्रै थिए । ‘त्यो बेला फुच्चे न थिएँ, कसैले गन्थेनन्,’ उनी भन्छन्, ‘महसुस नै हुने गरी पारिश्रमिक बढेको अहिले नै हो ।’ ‘झोले’ छ लाख रुपैयाँमा गरेका उनले त्यसपछि ‘पशुपति प्रसाद’ निर्देशन गरे । “अहिले ‘पशुपति प्रसाद’ पछि मेरो डिमान्ड हात्तै बढेको छ,’ आफ्नो भाउ सुनीसुनी आफैँ दंग परेका उनी सुनाउँछन्, ‘जति माग्यो त्यति दिने गरी अफर आउन थालेका छन् ।’’ त्यसो त उनी पारिश्रमिक सुन्दा धेरै भनेको जस्तो हुने भएकोले होम प्रोडक्सनभन्दा बाहिर काम गर्न खासै रुचि नराख्ने बताउँछन् । भन्छन्, ‘नत्र सेयर लिएर काम गर्दै फाइदा छ ।’

‘लुट’ निर्देशन गर्नुको उद्देश्य निश्चल बस्नेतलाई ‘हामी पनि फिल्म बनाउन सक्छौं है’ भनेर अरूलाई देखाउनु थियो । त्यो बेला पारिश्रमिक प्राथमिकतामै थिएन । त्यसपछि ‘टलकजंग भर्सेस टुल्के’ बनाएका उनी यति बेला फेरि ‘लुट २’ मा जुटेका छन् । सिक्वेलसम्म आइपुग्दा उनको काम र नाम मात्रै नभई दाम पनि अकासिएको छ । ‘‘लुट २’ आफैं निर्माता पनि भएकोले पारिश्रमिक तोकेएको छैन, नत्र बाहिर गर्दा क्यास १५ लाख रुपैयाँ र ८(१० लाख रुपैयाँ आउने कुनै देशको ओभरसिज राइट्स लिने गर्छु,’ उनी भन्छन्, ‘निर्माताले ममा लगानी गर्ने रकम कम्तीमा ओभरसिजबाटै उठाइदिने ग्यारेन्टी मैले लिन्छु भने उहाँहरूका लागि राम्रै हो नि ।’

यी तीनै निर्देशकहरू आफ्नो पारिश्रमिकमा निर्देशनसँगै लेखनको जिम्मा पनि पर्ने बताउँछन् ।

दीपेन्द्र यति बेला ‘चपली हाइट २’ लाई भदौ ३ मा रिलिज गरेलगत्तै नयाँ फिल्म ‘लभ लभ लभ’ मा भिडै छन् । ‘अहिले मलाई २० लाख रुपैयाँसम्म दिने गरी निर्माताहरू आएका छन्,’ उनी भन्छन्, ‘स्क्रिप्ट ठीकठाकै छ र पैसाका लागि नै गर्ने हो भने अलिक धेरै पनि डिमान्ड गर्छु । तर कुनै स्क्रिप्ट राम्रो छ र गर्नैपर्ने जस्तो देखियो भने कन्सिडर पनि गरिन्छ ।’

त्यसो त दीपेन्द्र निर्देशन र लेखनको काम सकिए पनि फिल्म रिलिज नहुँदासम्म इंगेज भइदिन्छन् । उनको यही सजिलो बानीबारे जानकार निर्माताहरू ठूलो मूल्य तिरेरै भए पनि उनलाई लिन लालायित हुने गर्छन् । ‘म काम लिइसकेपछि नसकिँदासम्म समर्पित भएर गर्छु, त्यसैले पनि लिन रुचाउँछन् सायद,’ उनी सुनाउँछन्, ‘मलाई त्यति पैसा दिँदा निर्माताको धेरै फजुल खर्च बच्छ, जुन स्वत: मुनाफा पनि हो ।’ त्यसो त यति बेला उनको गुडविल पनि राम्रो छ, उनका फिल्मले विदेशमा समेत राम्रै मूल्य पाउन थालेका छन्, त्यसैले महँगोमा उनलाई लिँदा पनि निर्मातालाई घाटा हुन्न ।

रामबाबु भने सृजनाको कुनै मूल्य नै नहुने तर्क गर्छन् । भन्छन्, ‘अनि मेकरले मूल्यको हिसाब पनि गर्दैन । फेरि म पैसाका लागि भन्दा पनि राम्रो प्रोडक्टका लागि काम गर्छु । मुख्यत: राम्रो फिल्म नै हाम्रो खास कमाइ हो । हाम्रो लागि पैसा महत्त्वपूर्ण हैन ।’ उनी भने समय मिल्यो र स्क्रिप्ट चित्त बुझ्यो भने बाहिरी प्रोजेक्ट गर्नुमा असहज मान्दैनन्, ‘त्यसका लागि सोच मिल्यो भने बाहिर काम गर्न समस्या हुँदैन ।’ उनले ‘पुरानो डुंगा’ सकेलगत्तै बाहिरी प्रोजेक्ट ‘झोले २’ गर्न लागेका हुन् । त्यसपछि भने उनी ‘डिग्री माइला’ र ‘कबड्डी’ कै सिरिजमा व्यस्त हुनेछन् ।

निर्देशकको पारिश्रमिक बढ्नु भनेको फिल्मप्रति उनीहरूको उत्तरदायित्व पनि बढ्नु हो । झनै राम्रो काम गर्नका लागि प्रेरित हुनु पनि हो । राम्रा फिल्म बन्नु उद्योगका लागि नै फाइदा हो । ‘पछिल्लो समय मेकर, कलाकार वा टिम हेरेर र विश्वास गरेर फिल्म हेर्न जाने दर्शक बढेका छन्,’ दीपेन्द्र भन्छन्, ‘निर्देशक पनि बिक्न थालेका छन् ।’ उनको भनाइसँग सहमत हुने ठाउँ छ ।

रामबाबु पनि मल्टिप्लेक्ससँगै अडियन्सको ग्रोथले पनि पारिश्रमिक बढ्नु नौलो नभएको जिकिर गर्छन्, ‘प्रोडक्सनमा सिरियस नहुने मेकरका लागि फिल्म गरेर केही फाइदा छैन । तर जो सिरियस भएर आएको छ, उसका लागि यो ठूलो कुरा पनि हैन । उसले त्यसै जुवा खेले जसरी पैसा बाँडेको पक्कै हैन ।’ लेखक, कलाकार र निर्देशकले राम्रो पारिश्रमिक पाउँछ भने त्यसले उद्योगको पनि वृद्धि विकास भइरहेको संकेत दिने उनी बताउँछन् । तर सँगसँगै भन्छन्, ‘त्यसलाई टिकाउ बनाउनमा भने लाग्नुपर्छ । नत्र आज २५ लाख रुपैयाँ लिने भोलि शून्यमा झर्ने अवस्था आउनु भएन ।’

स्वदेशी फिल्मको बजार र लगानी अझै पनि सानो भइरहेका बेला गतिला निर्देशकले २५ लाख रुपैयाँसम्म लिनु कत्तिको तर्कसंगत होला ? दीपेन्द्र जवाफिन्छन्, ‘धान्नै नसक्ने हुँदैन । त्यति लगानी गरेर निर्देशक लिँदा एउटा क्लासको फिल्म बन्छ भने के फरक पर्छ र ?

फिल्म नै बुझेका मान्छेले २(४ लाख रुपैयाँ बढी दिएरै पनि लिन चाहेका छन्, नबुझ्नेले बढी भयो भन्छन् ।’

निश्चल पनि यसलाई धेरै मान्न तयार छैनन्, ‘कस्तो फिल्म बनाउने हो, त्यसमा भर पर्छ । नत्र हामी एउटै फिल्मका लागि कम्तीमा पनि आठ महिना खटेका हुन्छौं भने बुझ्नेका लागि हाम्रो पारिश्रमिक धेरै हैन ।’ उनी निर्देशकले पनि किन त्यति पारिश्रमिक लिइरहेको छ भन्ने कारण कामबाट दिन सकेमा समस्या नहुने तर्क गर्छन् ।

साभारः कान्तिपूर अनलाइन