

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका उपमहानगरपालिकाको दौडमा अगाडी लम्किएको छ । स्वर्गीय राजा वीरेन्द्रले शहरी विकास विज्ञ माधवभक्त माथेमाबाट २०२९ सालमा वीरेन्द्रनगरको खाका कोर्न लगाउनुभएको थियो । वीरेन्द्रनगरले तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम भएपछि विकासको फड्को मार्न शुरु गरेको बताइन्छ ।
देश संघीयसंरचनामा गए सँगै पहिला ६ प्रदेश बनाइएकोमा सुर्खेतमा जारी प्रदेश प्राप्त आन्दोलनले सातौं प्रदेश बनाइ कर्णालीका १० जिल्लाहरु समेटी छुट्टै प्रदेश बनेसँगै वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेको हो । शहरी विकास विज्ञ माथेमाले कोर्नुभएको व्यवस्थित शहरी योजना अनुसार करिब ५२ बर्ष पछि वीरेन्द्रनगर उपमहानगरपालिकाको दौडमा लम्किएको छ ।
वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणाका लागि आव वर्ष ०७८/०७९ बाट प्रक्रिया थालिएको थियो । तर राजश्व लगाएका केही कुराको दायराहरु नपुगेपछि पछाडी धकेलिएको उपमहानगरपालिका बनाउने प्रकृया करिब ३ बर्ष पछि मापदण्ड पूरा गरेको भन्दै १६औं हिउँदे नगरसभाले अगाडी बढाएको छ । त्यसकालागि कर्णाली प्रदेश सरकार मार्फत केन्द्र सरकारलाई अनुरोध गर्न सार्वजनिक महत्वको प्रस्ताव पारित गरिएको नगरप्रमुख मोहनमाया ढकालले बताउनुभयो ।
अब यो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मन्त्रिपरिषद बैठकमा पेश हुनेछ र मन्त्रिपरिषद बैठकले प्रस्ताव पारित गरेमा वीरेन्द्रनगर नगरपालिका उपमहानगरपालिकामा परिणत हुनेछ ।
कर्णालीमा ७९ वटा स्थानीय तह मध्ये २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन् । यो प्रस्ताव मन्त्रिपरिषदबाट पारिए भएमा कर्णाली प्रदेशको पहिलो उपमहानगरपालिका बन्नेछ ।
Prawash Kumar Shakya । ३० माघ २०८१, बुधबार १३:१० बजे