केपिएल २ आजबाट शुरु, उद्घाटन खेलमा कर्णाली ११ को विजयी शुरुवात


१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आजदेखि कर्णाली प्रिमियर लिग २ को शुभारम्भ भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले ब्याटिङ्ग गर्दै लिगको उद्घाटन गर्नुभएको हो ।

आजको खेलमा  घरेलुटोली कर्णाली ११ ले कर्णाली प्रिमियर लिग केपीएलमा विजयी शुरुवात गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर कालिन्चोक किक्रेट मैदानमा आज भएको उद्घाटन खेलमा कर्णालीले झाँपाको लालिगुराँस क्रिकेटलाई एकेडेमीलाई ८ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो ।

१०२ रनको लक्ष्य लिएको कर्णालीले कप्तान रबिन्द्र जंगशाहीको अविजित ४५ रनको पारीसंगै १४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । टस जितेर ब्याटिङ गरेको लालिगुराँसले निर्धारित २० ‌ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन बनाएको थियो । लालिगुँरासकालागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाउनु भयो ।

पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिनुभयो । यस्तै दिवान पुनले पनि ३ तथा जितेन्द्र सिंह ठकुरीले २ विकेट हात पार्नुभयो ।

भोलि बिहान ८ बजे न्यु होराईजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमी तथा दिउँसो विभागिय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमी भिड्ने छन् ।

२१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभाग सहित ८ टोलीले सहभागिता जनाएको कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिनुभयो ।