काठमाडौ, ३ फाल्गुन ।
नेपाली राष्ट्रिय टिमले तीन साताअघि ढाकामा बंगबन्धु गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टिमले २३ वर्षपछि जितेको उपाधि थियो त्यो । नेपालको तेस्रो उपाधि पनि हो । त्यसअघि नेपालले सन् १९८४ र १९९३ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदक जितेको थियो ।
नेपाली फुटबल टिम फेरि २३ वर्षपछि अर्को उपलब्धि हात पार्ने संघारमा आइपुगेको छ । नेपालले १२ औं सागको स्वर्णपदकका लागि सोमबार आयोजक भारतसँग फाइनल खेल्दैछ । इन्दिरा गान्धी स्टेडियम, गुवाहाटीमा भारतलाई पन्छाउनसके नेपालले २३ वर्षपछि क्षेत्रीय खेलकुदमा स्वर्ण हात पार्नेछ ।
छैटौं साफ गेम्स (ढाका) मा स्वर्ण जित्दाका कप्तान थिए, राजुकाजी शाक्य । अहिले उनी प्रशिक्षक छन् र उनले सम्हालेको नेपाली यू–२३ टिम नै १२ औं सागको स्वर्ण नजिक पुगेको हो । उनको कप्तानीमा नेपालले २–२ को बराबरीपछि टाइब्रेकरमा भारतलाई हराएर २३ वर्षअघि स्वर्ण जितेको थियो ।
‘भारतलाई भारतमै हराएर च्याम्पियन बन्ने इच्छा र त्यो अवसर अहिले आएको छ,’ प्रशिक्षक शाक्यले भने, ‘भारत दक्षिण एसियाको उत्कृष्ट टिम हो । उसको टिम राम्रै देखेको छु । उसलाई घरेलु मैदानको फाइदा छ । तर खेलमा केही भन्न सकिंदैन । सेमिफाइनलमा माल्दिभ्ससँग खेलेजस्तै स्पिरिटमा फाइनल खेल्यौं भने हामी स्वर्ण जित्छौंजस्तो लाग्छ ।’
नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपालले शनिबार दुई घन्टाको रोमाञ्चक प्रतिस्पर्धापछि माल्दिभ्सलाई ४–३ ले पन्छाउँदै १७ वर्षपछि सागको फाइनल खेल्ने पक्का गरेको थियो । ‘खेलाडी थाकेका छन् । त्यसैले आइतबार हल्का शारीरिक अभ्यास मात्र गर्यौं,’ शाक्यले भने । उनले चोटको समस्याबीच पनि गोलकिपर विकेश कुथु, फरवार्ड विमल घर्तीमगर र अञ्जन विष्टलाई सेमिफाइनलमा पहिलो रोजाइमा खेलाएका थिए । ‘अलि समस्या छ तर उनीहरू फाइनलमा खेल्नेछन् । फाइनल अन्तिम खेल हो र यसपछि उनीहरूले आराम गर्नेछन् । चिकित्सकले पनि उनीहरूलाई फाइनल खेल्न सक्ने बताएका छन् ।’
सेमिफाइनलमा रातो कार्ड बेहोरेका डिफेन्डर कमल श्रेष्ठ फाइनलमा उपलब्ध हुने छैनन् । ‘उनी नहुँदा फरक त पर्छ नै तर सेमिफाइनलमा अञ्जन विष्टले पनि राइट डिफेन्समा राम्रै खेलेका थिए,’ प्रशिक्षक शाक्यले भने, ‘डिफेन्समा मानबहादुर तामाङ र दिनेश राजवंशी पनि उपलब्ध छन् ।’ कप्तान विराज महर्जन पनि फाइनललाई लिएर निकै उत्साहित छन् । ‘माल्दिभ्सविरुद्ध २ घन्टा एकदमै मिहिनेत गर्यौं । एक किसिमले टिमले चमत्कारै गर्यो । यसबाट उत्साहित भएका छौं । र, अब स्वर्ण जित्ने लक्ष्य पूरा गर्न चाहन्छौं,’ उनले भने ।
नवयुगको युग
विराजकै कप्तानीमा नेपाल तीन साताअघि फाइनलमा बहराइन यू–२३ लाई ३–० ले हराएर बंगबन्धु गोल्डकप च्याम्पियन भएको थियो । अहिलेका सबै खेलाडी त्यही टिमका सदस्य हुन् । नवयुगको ह्याट्रिक सहयोगमा नेपालले बंगबन्धुको सेमिफाइनलमा माल्दिभ्समाथि ४–१ को जित निकालेको थियो ।
आर्मीका फरवार्ड नवयुगले पछिल्ला ५ खेलमा तीन ह्याट्रिकसहित १० गोल गरेका छन् । बंगबन्धु गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी चुनिएका उनले १२ औं सागको पहिलो खेलमा भुटानमाथि ५–० को जितमा पनि ह्याट्रिक गरेका थिए । नेपाल २–१ ले बंगलादेशसँग हारेपछि समूहमा उपविजेता भएको थियो र नवयुगले पछिल्ला ५ खेलमा गोल गर्न नसकेको त्यही हो ।
‘माल्दिभ्सलाई हराउने सोचेका थियौं तर त्यस्तो कष्टको जित होलाजस्तो लागेको थिएन । फाइनलमा अझ धेरै खटेर खेल्नेछौं,’ नवयुगले भने । आफ्नो निरन्तर गोलबारे उनले भने, ‘साथीहरूले राम्रो पास दिइरहेका छन् । एक–दुईबाहेक पाएका सबै अवसरमा गोल गरेको छु । फाइनलमा पनि गोल गर्दै स्वर्णपदक जित्न चाहन्छौं ।’
श्रीलंकासँग १–० को हारबाट १२ औं सागको यात्रा थालेको भारत ३–२ ले माल्दिभ्सलाई हराएर अर्को समूहमा उपविजेता भएको थियो । तीनपल्टको स्वर्ण विजेता भारतले सेमिफाइनलमा बंगलादेशलाई ३–० ले हराएको थियो ।
दशरथ रंगशालामा १९९९ मा भएको आठौं साफ गेम्समा स्वर्णका लागि भएको फाइनलमा नेपाल १–० ले बंगलादेशसँग हारेको थियो । त्यसबेलासम्म राष्ट्रिय टिम सहभागी हुन्थे । नवौं साफ गेम्स (२००४/इस्लामाबाद) देखि फुटबलमा यू–२३ टिमले प्रतिस्पर्धा गर्न थालेको हो । यसपालि फाइनल प्रवेशसँगै नेपालले कोलम्बो साग २००६ मा कांस्य हात पारेयता पुरुष फुटबलमा पहिलोपल्ट पदक पक्का गरेको हो । नेपालले २ स्वर्ण, २ रजत र २ कांस्य जितिसकेको छ ।
महिला फुटबलमा इतिहास रच्ने मौका
नेपाली यू–२३ पुरुष टिम गुवाहाटीमा भारतविरुद्ध फाइनल खेल्नु ठीक तीन घन्टाअघि राष्ट्रिय महिला टिम पनि स्वर्णपदककै लागि सिलोङस्थित नेहरू स्पोर्ट्स कम्प्लेक्समा ओर्लंदैछ । नेपाली महिला टिमले पनि भारतसँगै प्रतिस्पर्धा गर्दैछ ।
महिला फुटबलमा नेपालले भारतलाई अहिलेसम्म पराजित गरेको छैन र त्यो इतिहास उल्टाउँदै १२ औं सागमा स्वर्ण जित्ने अभियानमा छन्, नेपाली चेलीहरू । राउन्ड रोबिनको खेलमा अपराजित रहेको नेपालको स्वर्ण जित्ने सम्भावनाबारे प्रशिक्षक ध्रुवबहादुर केसीले भने, ‘भारतले दक्षिण एसियाली महिला फुटबलमा सधैं उपाधि जित्दै आएको छ । त्यसैले फाइनलमा दबाब उनीहरूलाई छ, हामीलाई होइन । उसको टिम सन्तुलित छ । उसको स्तर हामीभन्दा धेरै माथि छ । उसलाई हामी हराउन सक्छौंजस्तो लाग्छ ।’
भारतको लेफ्ट डिफेन्स केही कमजोर भएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो मिडफिल्ड अलि कमजोर छ । स्पिड छैन, बल खोस्ने भएन । डिफेन्स भने धेरै राम्रो छ ।’
महिला फुटबलले ६ वर्षअघि ढाकामा भएको ११ औं संस्करणबाट सागमा प्रवेश पाएको थियो । त्यसबेला केसीले नै सम्हालेको नेपाली टिमले रजतपदक जितेको थियो । समूह चरणमा ५–० र फाइनलमा ३–१ ले हारेको त्यस टिमका आठ खेलाडी अहिले पनि छन् । साफ वुमेन्स च्याम्पियनसिपका तीन संस्करणको फाइनलमा पनि नेपाललाई भारतले निराश पारेको थियो । नेपालमाथि सन् २०१०/कक्सबजारमा १–०, २०१२/कोलम्बोमा ३–१ र २०१४/इस्लामाबादमा ६–० को जित निकाल्दै भारत दक्षिण एसियाली च्याम्पियन भएको थियो ।
तर, १२ औं साग/सिलोङमा गोलरहित बराबरी गर्दै नेपालले भारतविरुद्ध हारको शृंखला तोडेको थियो । ‘त्यो बराबरीले हामी पनि कमजोर छैनौं भन्ने प्रमाणित गरेको छ । यसबाट खेलाडी उत्साहित छन् । फाइनलमा अझ राम्रो र आक्रामक खेल्दै स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछौं,’ कप्तान अनु लामाले भनिन् । यसपल्ट दुई गोल गरेकी उनी नेपालको सर्वाधिक गोलकर्ता पनि हुन् । यी कीर्तिमानी फरवार्डले ३५ गोल गरेकी छन् ।
फरवार्डद्वय सावित्रा भण्डारी र अनुको समन्वयमा केही समस्या भएकोले गोल संख्या कम देखिएको प्रशिक्षक केसीले बताए । उनले अनुसहित पहिलो रोजाइका सात खेलाडीलाई श्रीलंकाविरुद्ध ४–० ले जितेको समूह चरणको अन्तिम खेलमा आराम दिएका थिए । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–०, दोस्रोमा माल्दिभ्सलाई २–० ले हराएपछि भारतसँग ऐतिहासिक बराबरी नतिजा निकालेको थियो । भारत भने अन्तिम खेलमा बंगलादेशमाथि ५–१ को जित निकाल्दै फाइनल पुगेको हो ।
सम्भावित टिम
लीला लाम्गादे (गोलकिपर), अञ्चली वाइवा, पुनम जर्घामगर, हीराकुमारी भुजेल, सजना राना, नीरु थापा, अनिता बस्नेत, दीपा अधिकारी, अनु लामा, सावित्रा भण्डारी र अमृता जैसी ।




Milan Shrestha । ३ फाल्गुन २०७२, सोमबार ०४:०० बजे