
सुर्खेत – वीरेन्द्रनगर सुर्खेतमा अवस्थित कोपिला भ्याली स्कूल विश्वको उत्कृष्ट विद्यालय पुरस्कारका लागि सन् २०२५ को अन्तिम १० उत्कृष्ट विद्यालयको सूचीमा छानिएको छ । T4 Education को पहलमा स्थापना गरिएको World’s Best School Prizes अन्तर्गत वातावरण संरक्षण (Environmental Action) श्रेणीमा नेपालबाट कोपिला भ्याली स्कूल पहिलो पटक उत्कृष्ट १० मा पर्न सफल भएको हो । सन् २०२२ मा COVID महामारीपश्चात सुरु गरिएको यस पुरस्कारले शिक्षाको माध्यमबाट सामाजिक परिवर्तन ल्याउने विद्यालयहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गर्दै आएको छ ।
कोपिला भ्याली स्कूलले “Green School Campus” अवधारणामार्फत शिक्षा र वातावरणीय दिगोपनालाई एकसाथ अघि बढाउँदै आएको छ । विद्यालयमा अध्ययनरत ४ सय भन्दा बढी विपन्न र संवेदनशील वर्गका बालबालिकालाई गुणस्तरीय औपचारिक शिक्षा मात्र होइन, पर्यावरणप्रति उत्तरदायी सोच र व्यवहार विकास गराउने कार्यक्रमहरू पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ । विद्यालयले अक्षय ऊर्जा, पुन: प्रयोग हुने स्रोतहरूको उपयोग, जैविक खाद्यान्न खेती, फोहोर व्यवस्थापन र विद्यार्थीको सक्रिय सहभागिता मार्फत समावेशी र वातावरणमैत्री शिक्षा प्रणालीको समेत अभ्यास गर्दै आएको छ ।
यस प्रतिस्पर्धामा नेपालबाट कुनै पनि विद्यालय पहिलो पटक अन्तिम सूचीमा पर्नु नेपालको शिक्षा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि मानिएको छ । कोपिला भ्याली स्कूलको यस उपलब्धिले नेपालको अन्तर्राष्ट्रिय शिक्षाप्रति प्रतिबद्धता र नवाचार क्षमताको पहिचान दिलाएको छ ।
T4 Education को यो पुरस्कार विश्वका हजारौं विद्यालयहरूबाट छनोट प्रक्रिया पार गरेर प्राप्त गरिन्छ, जसमा नवप्रवर्तन, समावेशीता, नेतृत्व, समर्पण र समुदायमा प्रभावकारी योगदान मुख्य मूल्यांकनका आधारहरू हुन् ।
पाँच विधामा छनोट, सार्वजनिक भोट सुरु
T4 Education को यो प्रतिष्ठित पुरस्कार पाँच विधामा प्रदान गर्ने गरिन्छ:
१- समुदाय सहयोग (Community Collaboration), २- वातावरणीय कार्य (Environmental Action), ३- नवप्रवर्तन (Innovation), ४- चुनौती पार गर्ने क्षमता (Overcoming Adversity), ५- स्वस्थ जीवनशैली (Supporting Healthy Lives)
यी विधाहरूमा छनोट प्रक्रिया अन्तर्राष्ट्रिय विज्ञ निर्णायक मण्डल द्वारा मूल्यांकनका आधारमा गरिन्छ। साथै, ५० उत्कृष्ट विद्यालयहरूबीच “Community Choice Award” को लागि सार्वजनिक मतदान सुरु भइसकेको छ, जहाँ विश्वभरका नागरिकहरूले आफ्नो मत दिन सक्नेछन् ।
सबै विधाका विजेता विद्यालयहरूको घोषणा सन् २०२५ अक्टोबरमा गरिनेछ। विजेता र अन्तिम प्रतिस्पर्धी विद्यालयहरूलाई नोभेम्बर १५–१६ मा अबुधाबी, यूएईमा हुने ‘World Schools Summit’ मा आमन्त्रित गरिनेछ। त्यहाँ उनीहरूले आफ्नो अनुभव, अभ्यास र दृष्टिकोण नीति निर्माणकर्ताहरू र शिक्षाविद्हरूसँग साझा गर्नेछन् ।
कोपिला भ्यालीलाई पुरुस्कार प्राप्त गराउनकालागि तलको लिङ्कमा गएर भोट गर्न सकिन्छ ।
Voting link : – World’s Best School Prizes 2025



Prawash Kumar Shakya । ४ असार २०८२, बुधबार १९:१७ बजे