
वीरेन्द्रनगर, सुर्खेत । कर्णाली प्रदेशको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र काँक्रेविहार जाने मुख्य सडक अब थप सुन्दर र हरियालीयुक्त देखिने भएको छ । ‘हरित वीरेन्द्रनगर’ अभियानअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी-काँक्रेविहार सडकखण्डको डिभाइडरमा आज (शनिबार) वृक्षारोपण गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाले डिभिजन वन कार्यालय, सुर्खेतसँगको सहकार्यमा लाटीकोइलीको शिव मन्दिरसम्मको नवनिर्मित सडक डिभाइडरमा वृक्षारोपण गरेको हो । कार्यक्रममा सडकको सौन्दर्य बढाउने उद्देश्यले छतिवन, पारिजात तथा कल्की जस्ता फूल फुल्ने र सदाबहार प्रजातिका बिरुवाहरू रोपिएको छ ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले ऐतिहासिक महत्त्व बोकेको सडकमा गरिएको वृक्षारोपणले सहरको सुन्दरतामा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले नगरपालिकाको ‘हरित वीरेन्द्रनगर’ बनाउने बृहत् योजनामा यस कार्यले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
“बिरुवा रोप्नु आफैँमा महत्त्वपूर्ण छ, त्यसमाथि यसलाई हुर्काउनु झनै महत्त्वपूर्ण हुन्छ,” नगरप्रमुख ढकालले भन्नुभयो, “रोपिएका बिरुवाको संरक्षण र स्याहारका लागि म सम्पूर्ण स्थानीय टोल विकास संस्था र नगरवासीहरूलाई अग्रसर हुन हार्दिक अनुरोध गर्दछु ।”
उहाँले गत वर्ष मात्रै नगरपालिकाले सडकका डिभाइडर तथा खाली ठाउँहरूमा करिब साढे सात हजार बिरुवा रोपेको जानकारी दिनुभयो । नगरपालिकाले अघि सारेको “एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा” को नारालाई सार्थक बनाउँदै सन् २०३० सम्म वीरेन्द्रनगरलाई वातावरण-मैत्री र मानव-बसोबासका लागि योग्य शहरका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो । यसका लागि फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखिएको र ल्यान्डफिल साइटलाई ‘नगर गौरवको आयोजना’ का रूपमा अघि बढाइएको पनि नगरप्रमुख ढकालले बताउनुभयो ।
कार्यक्रममा वीरेन्द्रनगर-९ का वडाध्यक्ष ऋषि गिरीले रोपिएका बिरुवाहरूलाई हुर्काउने जिम्मा वडाका स्थानीयवासी र टोल विकास संस्थाहरूको भएको बताउँदै सबैलाई यस पुण्य कार्यमा जुट्न आग्रह गर्नुभयो ।



Prawash Kumar Shakya । ३ श्रावण २०८२, शनिबार ११:२५ बजे