
वीरेन्द्रनगर, सुर्खेत । वीरेन्द्रनगरस्थित ‘पावर एण्ड डेडिकेसन फिटनेस क्लब’ले आफ्नो पहिलो वार्षिकोत्सव एक उदाहरणीय सामाजिक कार्यका साथ मनाएको छ । ‘व्यायाम स्वस्थ जीवनका लागि, रक्तदान मानव जीवनका लागि’ भन्ने सन्देशसहित क्लबले आज रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो सामाजिक उत्तरदायित्व प्रदर्शन गरेको हो ।
क्लबका प्रमुख कार्यकारी अधिकृत (सिईओ) लक्ष्मण रोकायका अनुसार शारीरिक तन्दुरुस्तीका लागि स्थापित क्लबले सामाजिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिएको छ । “हामीले ‘स्वास्थ्यको लागि व्यायाम’ भन्ने मूल मन्त्र लिएर क्लब सञ्चालन गरेका हौं,” सिईओ रोकायले भन्नुभयो, “यही मन्त्रलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरेका हौं । रक्तदान पनि स्वास्थ्यको एक महत्त्वपूर्ण पक्ष हो भन्ने सन्देश दिँदै क्लबमा आबद्ध युवाहरूलाई यस महान कार्यमा सहभागी गराउनु हाम्रो उद्देश्य हो ।”
कार्यक्रममा एक विशेष समारोहबीच कर्णाली प्रदेशमा सर्वाधिक ८७ पटक रक्तदान गरी मानवजीवन रक्षामा योगदान पुर्याउनुहुने स्वयंसेवी रक्तदाता प्रवास कुमार शाक्यलाई सम्मान गरिएको थियो । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्यसमेत रहनुभएका शाक्यलाई क्लबले उहाँको मानवीय सेवाको कदर गर्दै सम्मानपत्रद्वारा विभूषित गरेको हो ।
सम्मान ग्रहण गर्दै शाक्यले यस्ता सम्मानले आफूलाई निरन्तर रक्तदान र सामाजिक सेवामा लाग्न थप ऊर्जा र प्रेरणा मिल्ने बताउनुभयो । “विभिन्न संघसंस्थाबाट प्राप्त हुने यो माया र सम्मान नै मेरो लागि सबैभन्दा ठूलो हौसला हो । यसले मलाई कर्णालीमा रगतको अभाव हुन नदिन अझै सक्रिय रहन प्रेरित गर्छ,” उहाँले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र, सुर्खेतको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा कुल २४ पिन्ट रगत संकलन भएको केन्द्रका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो । संकलित रगतले सुर्खेतमा रगतको अभावलाई केही हदसम्म पूर्ति गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । फिटनेस र स्वास्थ्यप्रति सचेत युवाहरूलाई रक्तदानजस्तो परोपकारी कार्यमा जोड्ने क्लबको यो प्रयासलाई सहभागीहरूले प्रशंसा गरेका थिए ।




Milan Shrestha । ७ श्रावण २०८२, बुधबार ११:२२ बजे