कर्णाली स्वयम् सेवक दलद्वारा ब्लड एप सञ्चालनमा


१६ असार, सुर्खेत । कर्णाली स्वयम् सेवक दल सुर्खेतले आजदेखि एण्ड्रोइड मोबाइल एप्लीकेशन KSD – Blood Donation App लाई सञ्चालनमा ल्याएको छ ।

कर्णाली प्रदेश भरि छरिएर रहेका रक्तदाताहरुलाई एकत्रित गर्न र सहज रक्तदान गर्नकालागि एपको शुरुवात गरेको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले हामीले प्रदेश राजधानी देखि रक्तदाता खोज्न सजिलो होस भन्ने हेतुले यो एप्लिकेशनको शुरुवात गरेका छौं यस्लाई हामी समयअनुसार प्रदेशका दशै जिल्ला भरि पुर्याउने लक्ष्य लिएका छौं ।”

एप्लिकेशनमा रक्तसञ्चार केन्द्र सुर्खेतबाट उपलब्ध नामहरु र इच्छुक रक्तदाताहरुको नाम समावेश गरिदै छ । एप मार्फत रक्तदाता खोज्न सजिलो हुने दलले जनाएको छ । एपमा रगत चाहिने व्यक्तिले कुनै एक समूहको रगत माग गरेमा त्यो समूहको नामावली भएको व्यक्तिकोमा नोटिफिकेशन जाने र इच्छुक रक्तदाताले स्वीकार गरिपछि पुनः रगत माग गर्ने व्यक्तिकोमा नोटिफिकेशन जाने प्रणाली रहेको एप निर्माण गर्ने होस्टमेरो क्यूनिकेशनका भूषण गौतमले बताउनुभयो ।

एपलाई गुगल प्ले स्टोर बाट मोबाइलमा ksdblood टाइप गरेर  वा KSD – Blood Donation App – Apps on Google Play बाट डाउनलोड गर्न सकिने छ ।