कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा कर्णाली सरकारले पत्रकारिता विधामा वितरण गरेको पुरस्कार प्रति नेकपा माओवादी समर्थित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले गम्भीर ध्यानाकर्षण भएको एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।
प्रेस सेन्टर नेपालले विज्ञप्तीमा यस वर्षको पुरस्कार वितरणमा विगतका सकारात्मक अभ्यास विपरित सत्ता साझेदार दलसँग निकट धेरै पत्रकारलाई प्राथमिकतामा राखिएको छ। यसले पत्रकारिता पुरस्कारलाई निष्पक्ष, समावेशी र साझा चरित्रमा आधारित बनाउनुपर्ने मूल भावनालाई कमजोर बनाएको छ । पुरस्कार छनोट समिति गठनका क्रममा पेशागत पत्रकार संघ–संगठन, विश्वविद्यालयका सञ्चार संकायका प्रतिनिधि, स्वतन्त्र पत्रकार तथा सञ्चार विज्ञलाई उपेक्षा गरी सत्ता साझेदार दलसँग नजिक रहेका सीमित प्रतिनिधि मात्र राखिएको थियो। यसै कारण पुरस्कार नतिजा पनि पहिल्यै आशंकाअनुरूप आएको स्पष्ट देखिन्छ।
पत्रकारिता पुरस्कार जस्तो संवेदनशील क्षेत्रमा “योग्यभन्दा नजिकका”लाई प्राथमिकता दिने गलत संस्कृतिले पत्रकारिता पेशाको मूल्य, मर्यादा र सार्वजनिक विश्वासनीयतामा प्रश्न खडा गरेको छ। यो प्रवृत्तिले कर्णाली प्रदेश सरकारको सुशासनको दाबी नारामा मात्र सीमित भएको प्रमाण प्रस्तुत गरेको छ । अतः, प्रेस सेन्टर नेपाल, कर्णाली प्रदेश समिति प्रदेश सरकारलाई आग्रह गर्दछ कि पत्रकारिता क्षेत्रका कार्यक्रमलाई पारदर्शी, निष्पक्ष, समावेशी र सार्वजनिक जवाफदेहितामा आधारित बनाई कार्यान्वयनमा लैजाओस्। साथै, भविष्यमा पुरस्कार प्रक्रियामा निष्पक्षता र साझा चरित्रलाई सुनिश्चित गर्न आवश्यक पहल गर्न पनि जोडदार माग गर्दछौं । उल्लेख गरिएको छ ।




Prawash Kumar Shakya । ४ भाद्र २०८२, बुधबार १८:०४ बजे