
विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको १८ औं पुण्यतिथिको पवित्र अवसरमा ओम शान्ति (ब्रह्माकुमारी एवं समाज सेवा प्रभाग) ले सुरु गरेको विश्वव्यापी रक्तदान अभियान अन्तर्गत नेपालका सुर्खेत र गुल्मी जिल्लामा पनि विशेष कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएका छ ।
कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा आयोजित रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखासँगको समन्वयमा ओम शान्ति मार्गमा आयोजित शिविरमा ६१ पिन्ट रगत संकलन भएको हो।

कार्यक्रममा बोल्दै नेपाल स्वयंसेवी रक्तदाता समाज, सुर्खेतका संस्थापक अध्यक्ष एवं केन्द्रीय सदस्य प्रवासकुमार शाक्यले पछिल्लो समय रक्तदानबारे बढेको जनचेतनाले सफलता मिलेको बताउनुभयो । कर्णाली प्रदेशमै सर्वाधिक ८८ पटक रक्तदान गरी प्रेरणाको स्रोत बन्नुभएका शाक्यले भन्नुभयो, “रक्तदान गर्दा आफ्नो शरीरलाई पनि फाइदा पुग्छ र अर्कोतिर कसैको अमूल्य जीवन बचाउन सकिन्छ भन्ने भावनाको विकास भइरहेको छ, यही कारण सुर्खेतमा रक्तदाताहरूको संख्या बढ्दो छ ।”
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, जसले अभियानलाई थप गरिमा प्रदान गरेको थियो ।

गुल्मीमा पनि १५ पिन्ट रगत संकलन
यस्तै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, गुल्मीले आयोजना गरेको कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मीको समन्वय तथा गुल्मी जिल्ला अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १५ पिन्ट रगत संकलन भएको हो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मीका अध्यक्ष ध्रुब पाण्डेले भन्नुभयो “रगतदान मानवताको सबैभन्दा महान दान हो । यो दानले जीवनदान दिन्छ, जसको मूल्य कुनै पनि सम्पत्तिले तिर्न सक्दैन । हामीले आज संकलन गरेको रगतले भोलि कुनै आमाको आँखा उज्यालो बनाउन सक्छ, कुनै बालकलाई नयाँ जीवन दिन सक्छ वा दुर्घटनामा घाइते भएकाको आशा बचाउन सक्छ । त्यसैले प्रत्येक सचेत नागरिकले नियमित रूपमा रक्तदानलाई आफ्नो सामाजिक कर्तव्यको रूपमा लिनुपर्छ ।”
कार्यक्रम संयोजक श्याम पाण्डेले आफू पनि नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्य बनेको घोषणा गर्दै भन्नुभयो, “स्वयंसेवी रक्तदाता ध्रुब पाण्डे रातदिन नभनी समाजको काममा खटिनुभएको देख्दा साँच्चिकै प्रेरणा मिलेको छ । उहाँको त्याग र प्रतिबद्धताले नै मलाई समेत स्पर्श गरेको छ ।”




Milan Shrestha । ६ भाद्र २०८२, शुक्रबार १५:३१ बजे