तीजको उपलक्ष्यमा शुभकामना आदान–प्रदान


पवन जायसवाल

नेपालगञ्ज (बाँके) । नेपालगन्जमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, समाजवादी महिला संघ नेपाल बाँकेको आयोजनामा हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति नेपालगञ्ज स्थित नजिक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल, बाँकेको पार्टी कार्यालयमा शुभकामना आदान–प्रदान कार्यक्रममा आपसी भेटघाट, शुभकामना आदान–प्रदानका साथै तीजको सांस्कृतिक र सामाजिक महत्व माथि छलफल गरिएको थियो ।

समाजवादी महिला संघ नेपाल, बाँकेकी अध्यक्ष खुश्बु श्रीवास्तवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सचिव तथा नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर कमरुद्दीन राईले तीज पर्वले नेपाली महिलाहरूको सांस्कृतिक पहिचान र सामाजिक एकता कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले महिलाहरूलाई सामाजिक र राजनीतिक क्षेत्रमा थप सक्रिय हुनु पर्नेमा जोड दिनुभएको थियो ।

यसरी कार्यक्रमका विशिष्ट अतिथिहरूमा जसपा नेपालका केन्द्रीय सदस्य बेबी तबस्सुम अन्सारी, केन्द्रीय सदस्य रामकुमार यादव, केन्द्रीय सदस्य नन्दा श्रेष्ठ, जसपा नेपाल बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर वार्ड नं. २० का वडाध्यक्ष कौशल कुमार धोबी, जिल्ला सचिव सूर्यलाल यादव र सह–सचिव श्याम प्रसाद श्रेष्ठ लगायतले आ–आफना मन्तव्य ब्यक्त गर्दै हरितालिका तीजको सांस्कृतिक महत्व र महिलाहरूको सशक्तीकरणमा जोड दिँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

समाजवादी महिला संघ नेपाल, बाँकेकी सचिव आचल गुप्ताद्वारा सञ्चालित हरितालिका तीजको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रममा स्वागत मन्तव्य पार्टी नेता रेखा गुप्ताले गर्नुभएको थियो । हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रममा सहभागी महिलाहरुले  नाचगान र सांस्कृतिक प्रस्तुती मार्फत उत्साहपूर्ण वातावरण सिर्जना गर्नुभएको थियो ।

कार्यक्रमले तीजको मौलिकता र सांस्कृतिक महत्वलाई जीवन्त राख्नुका साथै महिलाहरू बीच एकता र सामाजिक सद्भावलाई प्रोत्साहन गरेको समाजवादी महिला संघ, बाँकेकी अध्यक्ष खुशबु श्रीवास्तवले बताउनुभयो । कार्यक्रममा करीब ६० जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो ।