‘भारतीय राष्ट्रपति नेपाल आउन इच्छुक’


160612111126_indian_president_pranab_mukherjee__512x288_nocredit_nocreditभारतीय राष्ट्रपति प्रणव मुखर्जीले उनी निकट भविष्यमैं नेपालको भ्रमण गर्न इच्छुक रहेको सन्देश आफूलाई दिएको उपप्रधानमन्त्री विमलेन्द्र निधिले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डका विशेष दूतको रुपमा बिहीबार दिल्ली पुगेका निधिले शुक्रबार साँझ मुखर्जीलाई भेटी नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीको तर्फबाट नेपाल भ्रमणको लागि पठाएको निमन्त्रणा दिएका थिए।

निधिले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ।

प्रधानमन्त्री प्रचण्डका विशेष दूत निधि शुक्रबार दिल्लीमा भएका उच्चस्तरीय भेटका क्रममा भदौको अन्त्यतिर नेपालका प्रधानमन्त्रीको दिल्ली भ्रमण र निकट भविष्यमै भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका विषयमा कुराकानी गर्न व्यस्त रहे।

‘शुभेच्छा’

शुक्रबार नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पाएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दिएको प्रतिक्रियाबारे निधिले भने, “राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट निम्ता दियौं। उहाँले आफू नेपाल कैयौं पटक गइसकेको र फेरि पनि जान चाहेको बताउनु भयो।”

“उहाँले भन्नुभयो, ‘म धेरै नेताहरुलाई चिन्छु र मेरो नेपालप्रति शुभेच्छा छ।”

निधिका अनुसार भारतीय राष्ट्रपतिको भ्रमण अक्टोबर असोजको अन्त्यतिर हुने सम्भावना छ र त्यसका लागि कूटनीतिक स्तरमा तयारीहरु जारी छन्।

निधिले दिल्ली उत्रिएलगत्तै आफ्नो भ्रमण नेपालमा संविधान कार्यान्वयनमा भारतको सदभाव र दुई देशको सम्बन्ध सुधारतर्फ केन्द्रित रहने बताएका थिए।

उनले भारतीय गृह मन्त्री राजनाथ सिंह र विदेश मन्त्री सुष्मा स्वराजसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।

‘स्वागत’

विदेश मन्त्री स्वराजसँगको भेटमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सेप्टेम्बरको मध्य अर्थात् भदौको अन्त्यतिर गर्ने तयारीबारे छलफल भएको निधिले बताए।

निधिका अनुसार भारतीय नेताहरुले नेपालमा गत वर्ष जारी संविधानको सर्वस्वीकार्यताका निम्ति पछिल्लो समयमा असन्तुष्ट तराई केन्द्रित दलहरुसँग भएको समझदारीको पनि स्वागत गरेका छन्।

उनले भने, “तनाव सहज भएको छ। अहिलेको सरकारले मधेसी मोर्चासँग वार्ता गरेर संविधानको सर्वस्वीकार्यताका लागि जुन अग्रसरता लिएको छ, त्यसप्रति तीनै नेताले सन्तोष प्रकट गर्नु भयो।”

निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको नेपाली दूतावासका एक अधिकारीले बताएका छन्।

शनिबार नै निधिले भारतका पूर्व प्रधानमन्त्री एवं विपक्षी कंग्रेस पार्टीका नेता डा. मनमोहन सिंहलाई भेट्ने योजना रहेको बताइएको छ।

आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै दुई ठूला छिमेकीसँग सन्तुलित सम्बन्ध बनाउने संकेत दिंदै प्रधानमन्त्री प्रचण्डले दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने निर्णय गरेका थिए।

साभारः विविसी