कर्णालीका पाँच जना करदाता सम्मानित



सुर्खेत मंसिर १ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा, आवधिक रुपमा करतिर्ने कर्णालीका पाँच जना करदातालाई सम्मान गरिएको छ । आन्तरिक राजस्व कार्यालय र सुर्खेत उद्योग वाणिज्य संघद्वारा सोमबार संघमा संयुक्त रुपमा आयोजित कार्यक्रमा सुर्खेत, दैलेख जाजरकोट, हुम्ला र डोल्पाका एक एक जना करदातालाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले सुर्खेतको वातावरण सुधार बहुुउद्देश्यीय सहकारी, दैलेखको टोपेन्द्र स्टोर, जाजरकोटको एम.बी बिल्डर्स, हुम्लाको कंग्री ढुवानी सेवा र डोल्पाको त्रिपुरा निर्माण सेवालाई सम्मान गर्नुभयो । उपाध्यायले करचेतनाको कमीले अहिले पनि कतिपय करदाता उद्योग व्यवसाय दर्ता गर्ने तर आवधिक रुपमा बुझाउनुपर्ने आय विवरण र आयकर नबुझाउँदा वर्षेनी लाखौं रुपैयाँ जरिमाना तिर्नुपर्ने बाध्यतामा रहेको भन्दै प्रविधिको विकास र विस्तार गर्दै करसेवालाई सहज एवं पारदर्शी बनाउनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

आफुले पनि कर प्रशासनमा लामो समय बिताएर अनुभव संगालेको बताउँदै उहाँले करको दायरा नबढाई सधैं दर मात्र बढाएर नहुने भएकाले तीनवटै तहका सरकारसंग समन्वय गरी कर प्रणालीलाई सहज, सरल र फेसलेश बनाउनका लागि पहल गर्न निजी क्षेत्रलाई सुझापनि दिनुभयो । उहाँले कर्णालीको सुर्खेतमा रहेको आन्तरिक राजस्व कार्यालयले करिव साढे २ अर्ब र प्रदेश सरकारले ५० देखि ६० लाख गरी कूल ३ अर्ब जत्ति कर संकलन गर्ने गरेकोमा लगभग ३७ अर्ब रुपैयाँ सुर्खेत जिल्लामा मात्र खर्च हुने गरेको तथ्यांक दिनुभयो ।

कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले अनपेक्षित घटनाक्रमहरुका कारण पूँजी पलायन हुने चिन्ता र खतरा बढ्दै गएको औल्याउँदै कानूनी व्यवधान हटाई करप्रणालीमा सुधार गरी आन्तरिक र बाह्य लगानी भित्र्याउन सरकार अग्रसर हुनुपर्ने आवश्यक्ता औल्याउनुभयो । अहिलेका अर्थमन्त्री र गभर्नर दुबै जना निजी क्षेत्रको अवस्था र बाध्यतासंग चिरपरिचित रहेकाले उहाँहरुको नेतृत्वमा केहि सुधार तथा सकारात्मक परिवर्तन हुने अपेक्षा निजी क्षेत्रले लिएको उहाँको भनाई छ ।

यसैगरी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले एकपछि अर्को गर्दै खेप्नुपरेका महाभूकम्पदेखि कोरोना महामारीजस्ता प्राकृतिक प्रकोप तथा राजनीतिक अस्थिरताका कारण सिंगो निजी क्षेत्र अहिलेपनि अत्यास लाग्दो अवस्थाबाट गुज्रिरहेको टिप्पणी गर्नुभयो । उद्योगी व्यवसायीले तिर्ने करबाट सञ्चालन हुने राज्यले तिनै उद्योगी व्यवसायीका लागि निर्धक्क र निर्भयतापूर्वक व्यापार व्यवसाय गरिखाने वातावरण बनाउन प्रभावकारी पहल गर्नुपर्ने मागपनि उहाँले गर्नुभयो ।

यस्तै च्याम्बर अफ कमर्शका अध्यक्ष चिन्तामणि शर्माले जोखिम मोलेर लगानी गरेको निजी क्षेत्र खरानी टक्टक्याउँदै बस्नुपर्ने र अर्कोतिर बैंकहरुमा तरलता थुप्रिएर सिंगो अर्थतन्त्र नै धरापमा पर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष प्रतिभा वली, अडिटर्स एशोसियन कर्णालीका अध्यक्ष छवि आचार्य, पत्रकार महासंघका अध्यक्ष शुशील शर्मालगायतले भनाई राख्नुभएको थियो ।