नारायणी पुल रातको समयमा दुई दिन बन्द: यात्रुलाई वैकल्पिक मार्गको व्यवस्था


पूर्व-पश्चिम महेन्द्र राजमार्गको नारायणगढ र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी पुल भोलि शुक्रबार र शनिबार गरी दुई रातको लागि पूर्ण रूपमा बन्द हुने भएको छ । नारायणघाट–बुटवल सडक योजना पूर्वी खण्डले एक सूचना जारी गर्दै शुक्रवार र शनिवार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पुलमा सवारी आवागमनमा रोक लगाइएको जनाएको हो ।

बन्दको मुख्य कारण भनेको निर्माणाधीन नारायणी पुलको गैंडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्रे गर्ने कार्य रहेको योजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।पुल बन्द हुँदा यात्रु तथा मालवाहक सवारी साधनहरूका लागि फरक–फरक स्थानमा ‘होल्ड’ (रोकिने) गर्ने व्यवस्था मिलाइएको छ ।

पश्चिम (बुटवल) बाट पूर्व (नारायणगढ) तर्फ आउने सवारी साधनहरू:

  • बस र साना सवारी साधन: नवलपरासी पूर्वको थुम्सी देखि भेडाबारी सम्म रोकिनेछन् ।

  • ट्रक, ट्रेलर, कन्टेनर जस्ता मालबाहक सवारी साधन: बेल्डिहा देखि प्रगतिनगर क्षेत्रमा रोकिनेछन् ।

पूर्व (नारायणगढ) बाट पश्चिम (बुटवल) तर्फ जाने सवारी साधनहरू:

  • बस, मिनी बस र साना चारपाङ्ग्रे सवारी साधन: नारायणघाट–मुग्लिन सडक खण्डको रामनगर देखि जुगेडी र पूर्व पश्चिम राजमार्गको केन्द्रीय बसपार्क देखि गोन्द्राङ क्षेत्रमा रोकिनेछन् ।

  • मालबाहक सवारी साधन: जुगेडी देखि दासढुंगा र गोन्द्राङ देखि टिकौली क्षेत्रमा रोकिनेछन् ।

यात्रुहरूलाई असुविधाबाट बच्नका लागि वैकल्पिक समयको प्रयोग गर्न वा यात्राको योजना परिवर्तन गर्न आयोजनाले अनुरोध गरेको छ ।