आजदेखि सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा


कर्णाली प्रदेशको सल्यानमा आजदेखि रक्तसञ्चार केन्द्र संचालनमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालय सल्यान र स्थानीय युवाहरूको सक्रियतामा जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको हो । जिल्ला अस्पतालले लामो समयदेखि निर्माण भएर पनि प्रयोगमा आउन नआएको भवनमा रक्तसञ्चार सेवा शुभारम्भ गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी सल्यानले रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने उद्देश्यले करिब २० लाख रुपैयाँ खर्च गरी निर्माण भएको तीन कोठे भवनमा रेडक्रसले विभिन्न प्राविधिक तथा व्यवस्थापकीय समस्या जनाउँदै रेडक्रसले रक्तसञ्चार केन्द्र सञ्चालन गर्न नसक्दा भवन प्रयोगविहीन अवस्थामा रहँदै आएको थियो ।

रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै जिल्ला अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामी र गर्भवती महिलालाई ठूलो राहत हुने ३२ पटक रक्तदान गरिसक्नुभएका स्वयंसेवी रक्तदाता  प्रकाश खड्काले बताउनुभयो । सल्यानमा यसभन्दा अघि रगत आवश्यक पर्दा बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीहरूले सामाजिक सञ्जाल र फोनमार्फत रगत समूह मिल्ने व्यक्तिको खोजी गर्दै व्यवस्थापन गरिने गरिएको थियो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले अब रगतको अभावका कारण बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो “रक्तसञ्चार केन्द्र संचालन सँगै जिल्ला अस्पतालमा विगत करिब एक दशकदेखि जटिल समस्या भएका गर्भवती महिलाको शल्यक्रिया हुँदै आए पनि रगत आवश्यक पर्ने अवस्थामा निकै सास्ती खेप्नुपर्ने अवस्था थियो अब त्यो समस्या पनि समाधान हुनेछ ।

२०४४ सालमा स्थापना भएको जिल्ला अस्पताल सल्यान सुरुमा १५ शय्याको भए पनि हाल ४० बेड क्षमतासहित सेवा दिँदै आएको छ । अस्पतालमा महिनामा ८ देखि १२ प्वाइन्टसम्म रगत खपत हुने गरेको स्वास्थ्य सेवा प्रमुख डा.  बुढा मगरले जानकारी दिनुभयो ।

सल्यानमा ३२औं पटकको रक्तदान गर्नुहुँदै स्वयंसेवी रक्तदाता प्रकाश खड्का