
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिहरूका लागि मतदाता नामावली दर्ता प्रक्रियालाई थप सहज बनाएको छ । अब राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नागरिकहरूले आफूलाई पायक पर्ने स्थानबाटै अनलाइन फारम भरेर मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । यसका लागि निर्वाचन कार्यालय पुगेर फोटो खिच्ने वा बायोमेट्रिक दिनुपर्ने बाध्यता हटाइएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभएअनुसार, निर्वाचन आयोगले आजैबाट लागू हुनेगरी यो नयाँ व्यवस्था गरेको हो । उहाँका अनुसार, अनलाइनमार्फत मतदाता नामावली संकलन गर्नेहरूको राष्ट्रिय परिचयपत्रमा रहेको बायोमेट्रिक विवरणलाई स्वतः प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।
“राष्ट्रिय परिचयपत्रको भण्डारमा जम्मा भएको बायोमेट्रिक विवरणलाई अनलाइन निवेदनमा जोडेर छानबिनपश्चात् नामावली प्रकाशन गर्ने निर्णय आयोगले गरेको छ । यसले तपाईँहरूका सबै मागलाई सम्बोधन गर्दछ,” भण्डारीले स्पष्ट पार्नुभयो । जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा मतदाता नामावली संकलनलाई थप सरल बनाउन आयोगले यस्तो कदम चालेको हो ।
यस नयाँ प्रणालीलाई कार्यान्वयनमा ल्याउन आयोगले बुधबार रातभर प्राविधिक तयारी गरेको थियो । हालसम्म धेरै नागरिकहरूले राष्ट्रिय परिचयपत्र बनाइसकेकोले यो व्यवस्थाले मतदाता नामावली दर्ता प्रक्रियालाई उल्लेखनीय रूपमा सहज बनाउने विश्वास आयोगले लिएको छ ।
सरकारले तोकेको कात्तिक ३० गतेसम्मको मतदाता नामावली दर्ताको समयसीमा अब तीन दिन मात्र बाँकी छ । यसअघि ठूलो संख्यामा नागरिकहरू मतदाता नामावलीमा नाम दर्ता गराउनबाट छुट्ने सम्भावना देखिएपछि आयोगले यस्तो महत्त्वपूर्ण निर्णय गरेको हो । जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर प्रसाद भट्टराईले यो निर्णय कार्यान्वयनमा आइसकेको जानकारी दिनुभयो ।
“राष्ट्रिय परिचयपत्र भएका नागरिकहरूले अब मतदाता नामावलीका लागि फोटो खिच्ने, बायोमेट्रिक दिने लगायतका कार्यका लागि धाउनु पर्दैन । राष्ट्रिय परिचयपत्र नभएकाहरूले भने अनलाइन फारम भरेर बायोमेट्रिकका लागि निर्वाचन कार्यालय आउनुपर्नेछ,” भट्टराईले भन्नुभयो । साथै आयोगले नागरिकलाई समयमै अनलाइन फारम भरेर आफ्नो मतदाता दर्ता सुनिश्चित गर्न आग्रह समेत गरेको छ।



Prawash Kumar Shakya । २७ कार्तिक २०८२, बिहीबार १६:२१ बजे