
“म रक्तदान गर्छु ।” भन्ने मूल प्रतिवद्धताका साथ २०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस कास्कीमा पनि भब्यातका साथ मनाइएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की शाखाले ८२ जना स्वयंसेवी रक्तदाताहरुको CBC ( complete Blood Count) परिक्षण गरेर दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सर्वाधिक रक्तदाता (९३ पटक) लक्ष्मण गुरुङ्गले रक्तदाताहरुको स्वास्थ्यकालागि गरिने यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो “यो कार्यक्रमले रक्तदाताहरु रक्तदान गर्न कति सक्षम छु भनेर जान्ने अवसर प्राप्त हुने भएकोले यो कार्यक्रम महत्वपूर्ण रहेको छ ।”
त्यस्तै समाजको कास्की शाखाले पोखराको हेम्जामा रहेको गौरीशंकर माध्यमिक विद्यालयका २ सय २५ जना विद्यार्थीहरुको रक्त समूह परिक्षण गरि उत्प्रेरणा कार्यक्रम पनि गरेको थियो ।
समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले अहिलेको समयमा यूवापुस्ता माझमा स्वयंसेवी रक्तदाताहरुको योगदाको सम्मान गर्नुका साथै रक्तदाताको महत्त्वबारे समाजमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले भन्नुभयो “रक्तदान मानव जीवन सँग प्रत्यक्ष रूपमा जोडिएको एक महान् सामाजिक कार्य हो । मानिसको जीवनको गम्भीर उपचारका क्रममा रगत तथा रक्ततत्वको आवश्यकता पर्दछ । यस्तो अवस्थामा स्वयंसेवी रक्तदाताको भुमीका अमुल्य रहेको छ ।”
कार्यक्रममा रक्त परिक्षणकालागि नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा पोखरा र पश्चिमाञ्चल डाइग्नोष्टिक सेन्टर एण्ड रिसर्च सेन्टर प्रा. लि.ले सहयोग गरेको थियो ।



Prawash Kumar Shakya । १५ माघ २०८२, बिहीबार १८:५७ बजे